सरकारी निकायले लगाम लगाउँदा शेयर बजारमा गिरावट आएको हो: राधा पोखरेल

सरकारी निकायले लगाम लगाउँदा शेयर बजारमा गिरावट आएको हो: राधा पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छन् ।

अध्यक्ष पोखरेलले नियामक निकायहरूले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर, शेयर बजारले एउटा उचाइ लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताएकी छन् । उनले शेयर बजार नियामक निकायहरूले शेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरू ल्याउने गरेको बताएकी छन् ।

शेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा शेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरूको शेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाएकी छन् । उनले भनिन्, ‘ सरकारका शेयर बजार नियामक निकायहरूले पुँजी बजारलाई लगाम लगाउने हिसाबले अगाडि बढेका छन्। शेयर बजार एउटा गतिमा दौडिरहेको अवस्थामा नियामक निकायहरूले बजारलाई प्रभावित गर्ने गरी नयाँ नीति ल्याउँदा लगानीकर्तामा निराशा छाएको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दा थप बजार प्रभावित भयो थियो। त्यसपछि चालु आर्थिक वर्षको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा एउटा लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा एउटा बैंकबाट ४ करोड र तीन वटासम्म १२ करोडको सीमा तोकिएको कारण शेयर बजारमा निराशा छ । यस्तो अवस्थामा जबसम्म बजारमा पैसा आउँदैन तब सम्म बजार घट्दै जान्छ । तर,मौद्रिक नीतिमा व्यवस्था भएको नयाँ नीति तीन महिनामा संशोधन गर्ने लगानीकर्तालाई बचन दिएको थियो । तर, मौद्रिक नीतिको समीक्षामा पनि नीति संशोधन नगरेकाले लगानीकर्तामा निराशा छाउँदा बजार गिरावट आएको छ। शेयर बजार सेन्सेटिभ मार्केट भएकाले घटबढ भइरहनुपर्छ । तर नियामक निकायले बनाउने नीतिले शेयर बजार घट्ने र बढ्ने हुनुहुँदैन । नियामक निकायले शेयर बजारमा भएको विकृति विसङ्गतिलाई रोक्नुपर्छ । तर शेयर बजारलाई रोक्नु हुँदैन। अहिले बजारमा तरलताको समस्या छ । यो समस्या सरकारले ल्याएको बजेट खर्च नगरेर राज्यको ढुकुटीमा थन्केर बसेकाले पनि सिर्जना भएको हो । यो विषयमा अर्थ मन्त्रीको बजेट खर्च गर्ने कुरामा केही चासोसमेत देखाउनु भएको छैन । यस्ता विविध कारणले गर्दा शेयर बजारको भविष्य अन्योलमा रहेको छ । पछिल्लो तीन महिनाको अवधिमा शेयर लगानीकर्ताको २० प्रतिशत नोक्सानी भएको छ । यही अवस्था तीन वर्षसम्म रहेमा लगानीकर्ताको शेयर बजारमा १० प्रतिशत लगानी पनि रहँदैन।’

अध्यक्ष पोखरेले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फकिएकाले बजार गिरावट भएको बताइन् । उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताएकी छन् । अध्यक्ष पोखरेलले पछिल्लो समय बिस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि बिस्तारै चलायमान हुँदै गएको बताएकी छन् ।

Skip This
Skip This
Logo