काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोह आज सम्पन्न भएको छ। पहिलो चरणको उक्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई शुभकामना सन्देश पठाएका थिए।
कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा (श्रीमती) पङ्कज मित्तलले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको उल्लेख गर्दै संस्कार, संस्कृति र सभ्यताले छिमेकीमा प्रगाढता कायम रहिरहेको बताइन्। सुन्दर मुलुक नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहिआएको चर्चा गर्दै दीक्षित स्नातक विद्यार्थी नै भविष्यको निर्माता भएकाे यनले बताइन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले शिक्षा विकास र समृद्धिको मूल द्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दीगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए। उनले भने, “विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा ब्यक्तिको मार्गदर्शन थलो हो, दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ।” उनले विभिन्न विधामा स्नातक भएका विद्यार्थीलाई उपाधी प्रदान गर्न अनुमति दिएका थिए।
विश्वविद्यालयका उपकुलपति डा भोला थापाले नेपालमा सक्रिय चिकित्सक जनशक्तिमध्ये करिब ४५ प्रतिशत काठमाडौ विश्वविद्यालयको उत्पादनले सेवा गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले विश्वविद्यालयलाई शिक्षण अस्पताल निर्माणका लागि धुलिखेलको चौकोटमा ५०० रोपनी जमिन उपलब्ध गराएको स्थानमा फोक्सो अनुसन्धान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अस्पतालको प्राङ्गणमा ५० शय्यासहितको ‘मल्टीडिसिल्निरी’ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ‘मेन्टल हेल्थ रिसर्च सेन्टर’ निर्माणको काम अघि बढेको र करिब एक हजार शय्याको ‘सुपर–स्पेसियालिटी/सब–स्पेसियालिटी’ सुविधासहितको विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना छ।
कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका हुन्। स्कुल अफ आर्टसका २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए। साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षित विद्यार्थीमध्ये ४८ दशमलव ४५ प्रतिशत पुरुष र ५१ दशमलव ५५ प्रतिशत महिला छन्। यसैगरी बङ्गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका १२३ जना विद्यार्थी दीक्षित भएका हुन् । यस वर्ष मास्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन र मास्टर वाइ रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई गरी १६ जनालाई विश्वविद्यालयले पहिलोपटक उपाधी प्रदान गरेको हो।
विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधी प्रदान गरेको थियो। विश्वविद्यालयबाट हालसम्म स्कुल अफ आर्टसका तीन हजार २९, स्कुल अफ एजुकेशनका एक हजार ६२८, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९५४, स्कुल अफ ल का ११६, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८०६, स्कुल अफ मेडिकल साइन्सेजका १७ हजार ६९३ र स्कुल अफ साइन्सका तीन हजार ३९१ गरी कूल ३६ हजार ६२४ दक्ष विद्यार्थीलाई उपाधी प्रदान गरिसकेको जनाइएको छ।रासस





























प्रतिक्रिया