वैदेशिक सहायता नौ गुणाले घट्यो

वैदेशिक सहायता नौ गुणाले घट्यो

केन्द्रबिन्दु
0
Shares

गत आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक सहायता ९ गुणा कम प्राप्त भएको छ। अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्ममा सरकारले ६९ मिलियन अमेरिकी डलर अर्थात् ८ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो।

चालु वर्षमा प्राप्त सहायतामा १० मिलियन अर्थात् १ अर्ब २३ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ भने झन्डै ५९ मिलियन डलर अर्थात् ७ अर्ब ९ करोड रुपैयाँ प्राविधिक सहयोग प्राप्त भएको छ । चालु वर्षमा हालसम्म कुनै पनि सहुलियत ऋण प्राप्त भएको छैन ।

गत वर्ष सोही अवधिमा ८४ मिलियन अमेरीकी डलर अर्थात् १० अर्ब अनुदान प्राप्त भएको थियो भने ४ सय ४० मिलियन डलर अर्थात् ५३ अर्ब रुपैयाँ सहुलियत ऋण प्राप्त भएको थियो । त्यस्तै ५४ मिलियन डलर अर्थात् ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको प्राविधिक सहायता प्राप्त भएको थियो ।

गत आर्थिक वर्षमा कोरोना महामारीका कारण विश्व बैंक जस्ता संस्थाले आर्थिक वर्षको सुरुवाती महिनामा नै वैदेशिक सहायता प्रदान गरेका कारण धेरै देखिएको तर यो वर्षको अन्त्य सम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै नै वैदेशिक सहायता प्राप्त हुने अन्तर्राष्ट्रिय आर्थिक सहयोग महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालले बताए । “वैदेशिक सहायता अगाडि–पछाडि आउने भन्ने मात्र हो । अघिल्लो वर्ष केही अगाडिबाटै आउन थालेको थियो । अहिले जनवरीपछि धेरै आउँदैछ,” उनले भने । वैदेशिक सहायता राजस्व जसरी संकलन नहुने भन्दै उनले अगाडि–पछाडि आउनु स्वाभाविक रहेको बताए। पछिल्लो समय अनुदान कम आइरहेको विषयमा भने नेपालको ऋण तिर्न सक्ने क्षमता बढेका कारण कमी आउँदै गएको अर्यालको तर्क छ।

आगामी ५ वर्षमा नेपाल अति कम विकसितबाट विकासशील देशमा स्तरोन्नति गर्न लागिरहेको छ । विकासशील देशमा स्तरोन्नति गर्दा नेपालले गरिब राष्ट्रको रुपमा पाउँदै आएको अनुदान नपाउने चर्चा चलिरहेको छ। तर, अर्यालले भने नेपाल विकासशील देशमा स्तरोन्नति गरेपछि पनि द्विपक्षीय अनुदानमा भने खासै असर नपर्ने बताए। “इजरायल जस्तो देशलाई अमेरिकाले अहिलेसम्म अनुदान दिइरहेको छ। विकासशील राष्ट्रमा जाँदैमा अनुदान शून्य हुन्छ भन्ने होइन,” उनले भने।काराेबारबाट

 

Skip This
Skip This
Logo