कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा पनि जोड दिन आग्रह गरेका छन्। युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेकोमा अब निर्यातमा जोड दिन आग्रह गरेका हुन्।
कर्णालीमा रहेका करोडौ रुपैयाँका बहुमुल्य वस्तु (जडिबुटी) लाई यही प्रशाेधन गरेर निर्यात गर्न सकिए सबै लाभान्वित हुने उनले बताए । ‘हामीसँग बहुमुल्य जडिबुटी छन्। त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेको छौं ।’ उनले भने, ‘त्यसलाई यही प्रशाेधन गरेर निर्यात गरेको भए आफैं बढी फाइदा लिन सक्थ्यौं।’
मुख्यमन्त्री शाहीले याे क्षेत्रमा बहुमुल्य च्याउ, झ्याउ र स्याउ रहेकाे बताए। 'तर, त्यसको व्यवस्थापन गर्न सकेका छैनौं,’ उनले भने, ‘त्यसलाई व्यवस्थित र बजारीकरण गर्न सकियो भने धनी हुन धेरै बेर कुर्नु पर्दैन।’
कर्णाली विकासका लागि ६ वटा ‘ब’ लागू गर्न सके यहाँको विकासको ढोका खुल्ने मुख्यमन्त्री शाहीले बताए । ‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो।’ उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भए स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सृजना हुनसक्थे।’
यस्तै कर्णालीको आर्थिक विकासका लागि औद्याेगिकिकरण आवश्यक रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए। 'हामीले कर्णालीकाे विकासका लागि उद्योग नै सञ्चालन गर्न सकेका छैनौं।’ उनले भने, ‘उद्योगधन्दामा लगानी भित्र्याउन आवश्यक रहेको छ।’





























प्रतिक्रिया