नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन विना पास गर्नु राष्ट्रघात भएको बताएका छन् ।
नेता रावलले एक अन्तर्वार्ताका क्रममा प्रसारण लाइन र सडक मर्मतका लागि प्रयोग गरेको जमिन अनन्त कालसम्म आफ्नो अधीनमा राख्न चाहेको र जसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई खलल पुर्याउन सक्ने भन्दै बेलैमा सोच विचार गर्नुपर्ने बताएका छन् ।
नेता रावलले गत आइतबार नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने तथा विरोध गर्नेलाई एमसीसी सम्झौता पत्र पढ्न चुनौती दिएको विषय औँल्याउँदै भने, ‘म प्रधानमन्त्री देउवालाई एक पटक आँखा चेक गरी एमसीसी सम्झौता पत्रको धारा ५ (१) ‘ख’ को ३ पढ्न अनुरोध गर्दछु । जहाँ स्पष्ट लेखिएको छ, अमेरिकाको वर्तमान र भविष्यमा बन्ने कानुन मानिएन भने निलम्बन हुनेछ । त्यो भनेको भोलि नेपालले अमेरिकाको कानुन मानेन भने कामलाई बिचैमा अलपत्र पारेर जान सक्ने तथा सहयोगबाट हात झिक्न सक्छ । यदि अमेरिकाको कानुन नेपालमा लागु हुने हो भने यत्रो दशौँ वर्ष दुःख गरेर ल्याएको संविधानको के काम त्यसैले विना संशोधन एमसीसी पास गरिनु हुँदैन ।’
रावलले एमसीसीको विषयमा देउवा, प्रचण्ड, ओली, कानुनविद्, कानुनका जानकार तथा एमसीसी पास गर्ने मनसाय भएका जो कोहीसँग ‘वान टु वान’ वार्ता गर्न तयार रहेको बताए । उनले एमसीसी अमेरिकाको हिन्द प्रशान्त रणनीति अन्तर्गत रहेको भन्दै सम्पूर्ण नेपालीले यसको खुलेरै विरोध गर्नुपर्ने कुरामा जोड दिए ।
रावल नेपाल कम्युनिस्ट पार्टी एमालेका निवर्तमान उपाध्यक्ष हुन् भने १४ औँ महाधिवेशनमा अध्यक्षमा पराजित उम्मेदवार हुन् । रावलले नेपाली राजनीतिमा राष्ट्र हितको विषयमा खुलेरै लागिपर्ने नेताको पहिचान बनाएका छन् ।





























प्रतिक्रिया