सहिद स्मारक ए डिभिजन लिग: सातौँ चरणका खेल शुक्रबारबाट हुने

सहिद स्मारक ए डिभिजन लिग: सातौँ चरणका खेल शुक्रबारबाट हुने

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल शुक्रबारबाट सुरू हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगकाे सातौँ चरणका खेलहरू शुक्रबारबाट सुरू भई सोमबार समाप्त हुनेछन्। 

याे चरणमा दुई स्थानमा खेलहरू हुनेछन् । ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र  एक खेल पोखरा रंगशालामा हुने आयोजककाे भनाइ छ। शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्ह १ बजे हुने पहिलो खेलमा विभागीय टाेलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन्। पौने ५ बजेकाे खेलमा भने फ्रेण्ड्स र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन्। 

यस्तै, शनिबार तीन खेल हुनेछ। १ बजे र पौने ५ बजे काठमाडौंमा दुई खेल हुँदा दिउँसो २ बजे पोखरामा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को चुनौती लिनेछ। काठमाडौंमा थ्री स्टार र जावलाखेल युथ भिड्दा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब आपसमा भिड्नेछन्। 

तेस्रो दिन एक मात्रै खेल हुनेछ। पाैने ५ बजे सुरू हुने खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई रोक्ने प्रयास गर्नेछ। सातौँ चरणको अन्तिम दिन दिउँसो १ बजे सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्। 

जारी लिगको छैटौं चरणको खेल समाप्त हुँदा १४ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ। १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मी तेस्रो स्थानमा छ। 

समान ८ अंक बनाएको सातदोबाटो र हिमालयन शेर्पा क्रमशः पाँचौ र छैटौँ स्थानमा रहँदा समान सात अंकका थ्रीस्टार, एनआरटी र जावलाखेल क्रमशः साँतौबाट नवाैँसम्ममा छन्। यता, ६ अंकको पुलिस दशौँ स्थानमा रहँदा समान ५ अंकका एपीएफ र बीबीसी क्रमशः ११औँ र १२ औँ स्थानमा छन् । चार अंकको च्यासल र तीन अंकको फ्रेण्ड्स रेलिगेसन जोनमा छन्। 

सातौँ चरणमा शीर्षस्थानमा रहने टोली एएफसी कप-२०२२ को छनोटको लागि स्थान बनाउनेछ। 

Skip This
Skip This
Logo