बसन्त चौधरीका दुई कृतिको एकैसाथ विमोचन

बसन्त चौधरीका दुई कृतिको एकैसाथ विमोचन

केन्द्रबिन्दु
0
Shares

चर्चित कवि तथा गीतकार बसन्त चौधरीका दुई कृति एकै साथ लोकार्पण गरिएको छ । उनको नेपाली भाषाको कविता संग्रह ‘तिमीविनाको म’ र अंग्रेजी भाषाको कविता संग्रह ‘अनेक पल और मैं’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो। मंगलबार कमलपोखरी स्थित मारवाडी सेवा सदनको हलमा ती कृतिहरुको विमोचन गरिएको हो।

कुल ८५ वटा कविता समेटिएको ‘तिमीविनाको म’ र ८३ वटा रचना समेटिएका ‘अनेक पल औंर मैं’लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ कवि तुलसी दिवस, स्वयम् कवि बसन्त चौधरी, ‘तिमीविनाको म’का प्रकाशक मेघा चौधरी, प्रसिद्ध आख्यानकार तथा प्राध्यापक श्रीमती भूवन ढुंगाना तथा मुम्बई विश्वविद्यालयको हिन्दी विभागका अध्यक्ष प्रा.डा. करुणा शंकर उपाध्यायले संयुक्त रुपमा लोकार्पण गरे । कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट थियो ।

यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई आठ वटा पुस्तकको रुपमा बाहिर ल्याइसकेका कवि बसन्त चौधरीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरेका थिए । 

कार्यक्रममा ‘तिमीविनाको म’को समीक्षा गर्दै वरिष्ठ आख्यानकार भूवन ढुंगानाले बसन्त चौधरीको काव्यिक यात्राको प्रशंसा गरिन् । उनले चौधरीमा समकालीन साहित्यकार तथा कविहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताइन् । ‘उहाँको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानो–सानो कुराबाट नै खुशी पाउँदो रहेछ भन्ने देखिन्छ ।’ उनले भनिन्, खुशी प्राप्त गर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधना पनि रहेछ भन्ने बसन्त चौधरीबाट सिक्न सकिन्छ ।’ 

हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’को समीक्षा गर्दै प्रा.डा. करुणाशंकर उपाध्यायले एक शालीन र सरल व्यवहारका सशक्त कवि आफूहरुले पाएको दाबी गरे । ‘बसन्तका कविताहरुको बढी विशेषता जीवनको अनुभवबाट निक्लिएर आएको छ ।’ उनले भने, उहाँका कवितामा जीवनबोध र दायीत्वबोध छ । उहाँ समाज र समयका खारिएका चित्रकार जस्तो देखिनुहुन्छ ।’ 
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली वाङ्मयमा बसन्त चौधरीले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले चौधरी अब बरिष्ठ कविको रुपमा स्थापित भइसकेका उल्लेख गर्दै भने, जीवनलाई सोचेजस्तो अगाडि बढाउन साहित्यको महान परिभाषा दिनुभएको छ प्रेमिल भावनाबाट ओतप्रोत भएर ।’ 

यस्तै वरिष्ठ कवि तुलसी दिवसले बसन्त चौधरीका सिर्जनाहरुमा आफूले उर्वरता देखेको टिप्पणी गरे । ‘उहाँका सिर्जनाहरुमा उचाई, गहिराई र बिस्तारित रुप देखिन्छ । यी तीन चिज जुन सिर्जनामा हुन्छ, त्यो नै उत्कृष्ट कविता बन्छ, बसन्त चौधरीको सिर्जनामा यी चिज भेटिन्छन् ।’ उनले भने, बसन्त चौधरीजस्तै आफ्नो मौलिकता कायमै राखेर कविहरुले कविता कोर्न सक्नुपर्छ, सिर्जना गर्न सक्नुपर्छ ।’ 

‘तिमीविनाको म’ कविता संग्रहका प्रकाशक मेघा चौधरीले बुबा भएर मात्र नभई मनैबाट अभिप्रेरित भई आफूले कविता संग्रह प्रकाशनको निर्णय लिएको बताइन् । ‘मैले मेरो बुबालाई व्यापार व्यवसायमा भन्दा साहित्य पढ्दा र कविता लेख्दा बढी खुशी देखेकी छु ।’ उनले भनिन्, बुबाको त्यही खुशी र आनन्दका लागि मैले प्रकाशक बन्ने निर्णय गरेकी हुँ ।’ 

कवि बसन्त चौधरीले दुवै कृतिबाट एक/एक कवितासमेत वाचन गरेका थिए । आफ्ना कविता संग्रहप्रति व्यक्ति विचार तथा टिप्पणीबाट आफूलाई आगामी दिनमा थप सिर्जना गर्न छुट्टै उर्जा प्राप्त भएको समेत सो क्रममा उनले बताए। 

Skip This
Skip This
Logo