प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन्। बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्।
‘सञ्चार माध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्षण भएको छ,’ आरजुले भनेकी छन्।
उनले ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान)को संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन्।
केही दिनदेखि आरजु बतास समूहको सल्लाहकार रहेको भन्दै समाचार आइरहेका थिए। बतास समूहले नारायणहिटी दरबार संग्राहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको पाइएपछि प्रधानमन्त्री पत्नी आरजु पनि त्यसमा मुछिएकी हुन्।





























प्रतिक्रिया