लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन, समस्या भए लेखेर पठाउनु हाेला: मन्त्री आले

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन, समस्या भए लेखेर पठाउनु हाेला: मन्त्री आले

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन्।

शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि पुगेका मन्त्री आलेले भगवान् गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएको र यहाँको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताएका हुन्।

उनले भने, “शान्तिका दूत भगवान् गौतमबुद्ध जन्मिनुभएको र उहाँकै नामबाट देश–विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन, यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनुहोला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गर्नु मेरो दायित्व हुनेछ।” 

लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाको काम समयमै सम्पन्न गरिसक्नसमेत मन्त्री आलेले निर्माण व्यवसायीसँग आग्रह गरे। लुम्बिनी क्षेत्रमा निर्माण भएका काम गुणस्तरयुक्त हुनुपर्ने मन्त्री आलेको भनाइ थियो।

सोही अवसरमा मन्त्री आलेले लुम्बिनीमा निर्माण गरिन लागिएका सम्पूर्ण संरचना गुणस्तरयुक्त तथा मापदण्डसहित निर्माण गर्न र गराउनका लागि सबै क्षेत्र, तह, तप्काका नागरिकले चासो देखाउनुपर्ने धारणा राखे। साथै उनले लुम्बिनी विकास कोषअन्तर्गत रहेको एक हजार १५५ बिघा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेका र कम्तीमा पनि ८१ प्रतिशत काम सम्पन्न गरिसकेकाे बताउँदै बाँकी रहेको १९ प्रतिशत काम चाँडो बोलपत्र प्रक्रियाबाट सुरु गराउनसमेत लुम्बिनीको विकास कोषका पदाधिकारीलाई निर्देशन दिए।

मन्त्री आलेले लुम्बिनीमा निर्माण हुँदै गरेको पाँच हजार मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलको गुरुयोजनाअनुसार मूल प्रवेशद्वारमा निर्माण गरिन लागेको गेट तथा सडकको शिलान्याससमेत गरेका थिए।

Skip This
Skip This
Logo