काठमाडौं ।
उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ । लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेको तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् । ११ चैतदेखिको निरन्तर लकडाउनले आम्दानी खुम्चेका वेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन् ।
दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञा यता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । ‘अहिले नेपाली किसानले सबै तरकारी उत्पादन घटाएका छन्, आपूर्ति नै करिब २ सय टनका दरले घटेका कारण मूल्यमा चाप परेको हो,’ उनले भने । ललितपुर भैँसेपाटीकी गृहिणी उर्मिला महर्जनले शनिबार साँझ घर नजिकैको चोकमा तरकारीको भाउ सुन्दा अतालिएको बताइन् । उनी भन्छिन्, ‘मुला, स्कुस जस्ता तरकारीको भाउ पनि १ सय रुपैयाँ भन्छन् । कमाइ कम भएका वेला यस्तो महँगी भएपछि कति दिन धान्न सकिएला ?’
सरकारी निकायले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गरिरहेको जनाएको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताए । उनले आलु, प्याज लुकाउने, बढी मूल्य असुल्ने व्यवसायीलाई कारबाही थालिएको बताए ।
लकडाउन लगत्तै उत्पादनमा गिरावट
कोरोना भाइरस नियन्त्रणका लागि ११ चैतदेखि सरकारले लकडाउन गर्दा धेरै किसानको उत्पादन बारीमै सड्यो, कतिपय किसानले लागत मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भए । चैत र वैशाखमा किसानले उचित मूल्य नपाएको र निरन्तर लकडाउन जारी भएपछि तरकारी नै लगाउन नसकेको व्यवसायीको भनाइ छ । ‘काउली, गोलभेँडा जस्ता धेरै खपत हुने तरकारीको त बिउ नै आयात हुन सकेन र किसानले लगाउन पाएनन्,’ घिमिरेले भने, ‘यहाँ उपलब्ध बिउबाट पनि धेरै किसानले खपत नहुने र मूल्य घट्ने त्रासका कारण खासै तरकारी लगाएनन् ।’ उनका अनुसार अहिले ३०–३५ प्रतिशत तरकारी उत्पादनमा गिरावट आएको छ ।
उपत्यकाको गोलभेँडा तराई जान थाल्यो
अहिले उपत्यकामा गोलभेँडाको चरम अभाव भएपछि मूल्य उकालो लाग्न थालेको छ । शनिबार ललितपुरको भैँसेपाटीको खोकना दोबाटोस्थित ठेलागाडा व्यापारीले गोलभेँडा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका छन् । व्यवसायीका अनुसार काठमाडौंमा नै आपूर्ति कम भइरहेका वेला उपत्यकाआसपासबाट गोलभेँडा तराई जान थालेको छ ।
‘नेपाली किसानले गोलभेँडा धेरै फलाएको पाएपछि कृषि मन्त्रालय र अन्य सरकारी कर्मचारीसँगको समन्वयमा भारतबाट गोलभेँडा आयात नगर्ने भनियो,’ घिमिरेले भने, ‘त्यसैले भदौको केही समय गोलभेँडा भारतबाट खासै आएन । तर, यहाँ पनि उत्पादन बढ्न सकेन ।’नयाँ पत्रिकाबाट































प्रतिक्रिया