मोदीको सार्वजनिक अभिव्यक्तिबारे सरकार मौन बसेकाे भन्दै विवेकशील साझाद्वारा आपत्ति

मोदीको सार्वजनिक अभिव्यक्तिबारे सरकार मौन बसेकाे भन्दै विवेकशील साझाद्वारा आपत्ति

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकार मौन बसेकाे भन्दै विवेकशील साझा पार्टीले आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ। शुक्रबार पार्टी प्रवक्त्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै पार्टीकाे गम्भीर ध्यानाकर्षण भएको  जनाएका हुन् ।

'कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ।' विज्ञप्तिमा उल्लेख छ । 

नेपाली भू-भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य नहुने भन्दै साे पार्टीले नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने माग पनि गरेकाे छ। साथै भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन सरकारलाई आग्रह गरेकाे छ।

प्रेस विज्ञप्ति: 

लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति र नेपाल सरकारको मौनता आपत्तिजनक 

नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ।

कूटनीति नि:सन्देह आवेग र उत्तेजनाको विषय हैन। तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ। 

नेपाली भू-भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन। नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ। 

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
३० पुष, २०७८

Logo