विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ अन्तरले पराजित फ्रेण्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक रेलिगेसन संघारमा रहेको छ।
शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीसँग पराजित हुँदा फ्रेण्ड्सले छैटौं हार ब्यहोर्यो। जुन हारले फ्रेण्ड्स थप रेलिगेसनको नजिक रहेको हो।
यता, विजयी आर्मी भने तेस्रो स्थानमा उक्लिएको छ। आज नै हुने दोस्रो खेलमा संकटा क्लब थ्रीस्टार क्लबलाई कम्तीमा २–० ले पराजित गरे तेस्रो स्थानमा उक्लने छ। यदि सो नतिजा संकटाको पक्षमा नआए आर्मीले नवौं चरणमा तेस्रो स्थानमा रहेर टुंगाउनेछ।
खेलको १०औं मिनेटमा जगजित श्रेष्ठले आर्मीको अग्रता दिलाए। मैदानको बायाँ भागबाट जगजितले गरेको क्रस दोस्रो बारमा लाग्दै अप्रत्याशित रूपमा जाली चुमेको थियो। उनको प्रहार रोक्न फ्रेण्ड्सका भारतीय गोलरक्षक राहुल रामचन्द्र यादवले कुनै प्रयास नै गरेनन्।
२२औं मिनेटमा आर्मीले अग्रता २–० को बनायो। जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका दीनेश हेम्जनले ‘वान टच’ मा गोल गरे।
दोस्रो हाफको सुरुआतमै फ्रेण्ड्सले अग्रता २–१ मा झार्यो। विदेशी खेलाडी जमोउल एन्थोनी पाउलले गोल गरे। आर्मीका गोलरक्षक विकेश कुथुले राम्ररी क्लियर नगरेको बललाई एन्थोनीले खाली पोस्टमा गोल गरे।
७१औं मिनेटमा आर्मीले अग्रता ३–१ को बनायो। जगजित श्रेष्ठले प्रहार गरेको कर्नरलाई बक्स भित्रबाट हेड गर्दै सुमन अर्यालले सहज जित दिलाए।
यस अगि दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। अघिल्ला खेलहरूको तुलनामा दुवै टोलीले औसत सुधारिएको प्रदर्शन गरेका थिए। यद्यपि आर्मी स्कोर निकाल्न सफल भयो।
जितसँगै आर्मीले महत्त्वपूर्ण तीन अंकसहित गोल अन्तरको भने सुधार गरेको छ। आर्मी ९ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
पराजित फ्रेण्ड्स भने ९ खेलबाट ३ अंक सहित पुछारमा रहेको छ। हारसँगै फ्रेण्ड्सलाई रेलिगेसनको थप दबाब बढेको छ। फ्रेण्ड्स पहिलो पटक शीर्ष डिभिजन लिगबाट रेलिगेसन हुने संघारमा छ।































प्रतिक्रिया