ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ।
परराष्ट्रमन्त्री डा.नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराएका हुन् ।
उनले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारको तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे। मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावीसमेत गरे । उनका अनुसार भोलि नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ। नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधि उपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन् ।
मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे। उनले नेपालले विपदमा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए।
नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताए। उनले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदूतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गरे।
संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ। लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ।































प्रतिक्रिया