शील गरिएको देवघाटमा १२ हजार भक्तजन पुगे

शील गरिएको देवघाटमा १२ हजार भक्तजन पुगे

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस फैलने जोखिमले शील गरिएको पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेका छन्। 

गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा मकर स्नान गर्नाले पुण्य प्राप्त हुने जनविश्वासले शील हुँदाहुँदै पनि हजारौँ भक्तजन देवघाट पुगेका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलन थालेपछि देवघाट क्षेत्रमा हुने माघे संक्रान्ति मेला स्थगित गरिएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेश गर्ने नाका शीलसमेत गरिएको थियो । देवघाट प्रवेश गर्ने नाका आँपटारी, ठिमुरा, दासढुंगा र रामनगरबाट प्रवेशमा रोक लगाएको छ। तैपनि पनि मकर स्नान गर्न झण्डै १२ हजार भक्तजन पुगेका छन् ।

भक्तजन बिहानैदेखि गेटमा आएर बसेपछि बिहान साढे ८ बजेदेखि पैदलयात्रीलाई देवघाट प्रवेश गर्न दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक घिरणबाबु घिमिरेले बताए। त्यसपछि साँझसम्म १० देखि १२ हजार भक्तजन देवघाटमा स्नान गर्न आएको अनुमान गरेको उनले जनाए। ‘प्रशासनको आदेश अनुसार देवघाटमा लाग्ने माघे संक्रान्ति मेला स्थगित गरेका थियौँ ।  ९० प्रतिशत तयारी पुरा भइसकेको थियो। देवघाट शील भएको सूचना जारी गरेका थियौँ। नाका  शील हुँदासमेत भक्तजन आउनुभयो । देवघाटप्रतिको आस्था, महिमाका कारणले हो’, उनले भने । 

विगतको तुलनामा यसपालि देवघाट सुनसान बनेको घिमिरे बताउँछन् । मेला स्थगित गरेर नाका शील नभएको भए देवघाटमा भक्तजनको घुइँचोले खुट्टा टेक्ने ठाउँसमेत नहुने उनले उल्लेख गरे । विगतका वर्षमा देवघाटमा मकर स्नान गर्न पाँच लाख बढी भक्तजन आउने गरेका थिए । देशभरबाट माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नलाई आउने भक्तजनको भिड अघिल्लो दिनबाटै लाग्दथ्यो। भजनकिर्तनले देवघाट क्षेत्र गुञ्जायमान हुने गरे पनि यसपालि सुनसान नै रह्यो । 

देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । कोरोनाको जोखिमले गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त–महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा मात्रै बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो। माघे संक्रान्तिमा देवघाटमा हुने मेला देशकै ठूलो र प्रसिद्ध मानिन्छ।

Skip This
Skip This
Logo