नाडा अटोमोबाइल्स एसोसिएसनले नारायणहिटी दरबार संग्रहालयको विषयमा बतास अर्गनाइजेसनमाथि अमर्यादित व्यवहार भएको जनाएको छ। नाडाले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको अटोमोबाइल क्षेत्रको एक प्रतिष्ठित व्यवसायिक संस्था बतास समूहमाथि गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।
“सरकारले आह्वान गरेको टेन्डरहरूमा बतास समूहले सरकारले नै निर्धारण गरेको कानुनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वाभाविक प्रक्रिया हो। सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफ्नो जिम्मेवारीलाई अघि नबढाउनु गैर कानुनी हुनुपर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रूपमा परिभाषित गर्ने प्रयास गरिएको छ। जुन कार्य अन्यायपूर्ण छ,” अध्यक्ष ध्रुव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रक्रिया र कानुन विपरीत भएका गतिविधिमाथि सरकारले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई यस नाडाले अन्यथा नलिने तर आरोप प्रमाणित नभएसम्म कसैलाई दण्डित गर्न नहुने बताएको छ। समाचारकै आधारमा स्पष्टीकरणको समेत अवसर नै नदिई कारबाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न नसकिने नाडाको भनाइ छ।
सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमासमेत नकारात्मक प्रभाव पार्ने नाडाले भनेको छ।
“नाडाले आफ्नो स्थापनाकालदेखि नै कानुनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउँदै आएको सन्दर्भमा कानुनसम्मत व्यवसाय गर्दे आएको व्यवसायीमाथि कतैबाट पनि आरोप नलगाउन सम्बन्धित सवैको ध्यानाकर्षण गराउन चाहान्छौँ,” विज्ञप्तिमा भनिएको छ।































प्रतिक्रिया