प्रदेश २ को नाम र राजधानी टुंगाे लगाउन आजदेखि निर्वाचन कार्यक्रमको तयारी

प्रदेश २ को नाम र राजधानी टुंगाे लगाउन आजदेखि निर्वाचन कार्यक्रमको तयारी

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाउनुपर्ने निष्कर्षसहित आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरेको छ। 

आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रि समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने उल्लेख छ। प्रदेशको नाम र राजधानीमा दलीय सहमतिका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले १५ दिनमा विभिन्न पार्टीका सासदहरुसँग छलफल संवाद गरे पनि दलहरुबीच सहमति हुन सकेको छैन। 

प्रतिवेदनमा माघको पहिलो हप्तामै मतदानमा जान प्रदेश सभालाई अनुरोध गरिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतको व्यवस्थापन मिलाउन भनिएको छ। मतदान प्रक्रिया प्रदेश सभाको सभाकक्षसँगै टाँसिएको कक्षमा गर्न भनिएको छ।

विशेष समितिले नाम र राजधानीका लागि आएका विभिन्न प्रस्तावहरुमा सहमति जुटाउने प्रयास गरेको थियो । समितिका अनुसार नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेशमा मतदान गर्न सुझाव दिइएको छ।

समितिले स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्ताव ३ वटा प्रस्तावमा झार्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ । 

त्यसैरि, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ। पहिलो महागरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमाैरनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिकाभरिलाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ। 

आइतबारदेखि सभामा सुरु भएको प्रदेश नाम र राजधानीको विषयको बहस सोमबारको बैठकमा पनि जारी रहने सभामुख यादवले जनाए । सोमबार पनि सहमतिको वातावरण नबने निर्वाचन प्रक्रियाको तयारी हुने प्रदेश सभा सचिवालयले जनाएको छ। 

यसैबीच, प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरु पुरानै अडानमा देखिएका छन् । 

छलफलमा मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन्।  यसरी दलहरुले आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामाकरणमा दुई तिहाई पुग्ने सम्भावना कम देखिएको छ। 

प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सांसद रहेका छन्। दुई तिहाइको संख्या पुर्‍याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन्। रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ।

Logo