काठमाडौं ।
नजिकिँदै गरेको दसैं–तिहारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि र सिन्डिकेटलाई नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ पसल सञ्चालन र विभिन्न अनुगमनकारी निकायको संयुक्त बजार अनुगमन गर्ने गृहकार्य अघि बढाएको छ ।
मन्त्रालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले १५ असोजपछि संयुक्त बजार अनुगमन थाल्ने प्रारम्भिक निर्णय गरेको हो । बैठकमा सचिव अर्यालले सहुलियत पसललाई निरन्तरता दिने, दैनिक उपभोग्य वस्तुको मौज्दात विवरण संकलन गरी सार्वजनिक गर्ने र बजार अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजनासहित आगामी बैठकमा आउन निर्देशन दिएका थिए ।
बैठकमा सहभागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले १५ असोजपछि बजार अनुगमनका टोली परिचालन हुने बताए । उनका अनुसार महानगरपालिका, प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्वका वेला सक्रिय बनाइनेछ । त्यस्तै, मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले दसैँ लक्षित सुपथ पसल सञ्चालनको योजना बनिरहेको बताए ।
सुपथ पसलमा सबैभन्दा धेरै खाद्य वस्तु राख्ने साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले कहिलेबाट सुरु गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको बताए । भिड नगरी सुपथ पसल सञ्चालन गर्ने विषयमा गृह मन्त्रालयसँग समेत सहकार्य गर्नुपर्ने भएकाले गृहकार्य भइरहेको उनको भनाइ छ ।
सुपथ पसलमा साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले आफ्ना उत्पादनमा विशेष छुट दिने गरेका छन् । यी तीनवटै संस्थाले रामशाहपथस्थित बग्गीखानाको खाली जग्गामा एकीकृत पसल राख्ने गरेका छन् । अन्य ठाउँमा भने आफ्नो पुरानै बिक्रीकेन्द्रमा सहुलियत मूल्यका खाद्यान्न राख्ने गरेका छन् । यसपटकदेखि भने तीनवटै संस्थानका प्रत्येक आउटलेटमा तीनवटै संस्थानका सामग्री उपलब्ध गराउने गृहकार्य अघि बढेको छ ।नयाँ पत्रिकाबाट































प्रतिक्रिया