ठूला निक्षेपकर्ताले पैसा झिके, बैंकहरूको कुल निक्षेप उच्च मात्रामा घट्याे

ठूला निक्षेपकर्ताले पैसा झिके, बैंकहरूको कुल निक्षेप उच्च मात्रामा घट्याे

केन्द्रबिन्दु
0
Shares

पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ। माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब २२ करोडले घटेको हो।

गत पुसको तेस्रो साता १४ अर्ब, चौथो साता ५९ अर्ब र पुसको अन्तिम साता १७ अर्बले बैंकहरूको निक्षेप बढेको थियो। तर, माघको पहिलो साता भने निक्षेप उच्च मात्रामा घटेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको छ।

पुसमा कर तिर्ने समय भएर पनि निक्षेपमा ठोस असर पुगेको थिएन। तर, माघको पहिलो सातामै ठूलो मात्रामा निक्षेप घटेपछि बैंकहरूमा तरलता व्यवस्थापनमा थप चाप पर्ने देखिएको छ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २४ अर्ब ३४ करोड निक्षेप रहेको थियो। माघको पहिलो साता अर्थात् ७ गतेसम्म आउँदा त्यो ४३ खर्ब ११ अर्ब १२ करोडमा झरेको छ।

समीक्षा अवधिमा नेपाल आयाल निगम, नेपाल विद्युत् प्राधिकरणजस्ता ठूला निक्षेपकर्ताले आफ्नो खातामा भएको रकम झिकेका छन्। त्यसको असरले निक्षेप घट्न गएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीइओ अनिलकुमार उपाध्यायले बताए।

आयल निगमले विभिन्न बैंकमा रहेको खाताबाट १६ अर्ब रुपैयाँ झिकेको उनको भनाइ छ। त्यसैगरी विद्युत् प्राधिकरणजस्ता अन्य संस्थाले पनि ठूलो मात्रामा रकम झिक्दा निक्षेपमा कमी आएको उनले बताए ।

सर्वसाधारण, सरकारी खर्च, अन्य संघसंस्थालगायत निक्षेपकर्ताबाट निक्षेप आउने क्रम पनि जारी नै छ। यस अवधिमा ठूला निक्षेपकर्ताले एकैपटक ठूलो रकम झिक्दा निक्षेपमा संकुचन देखिएको मात्र हो, त्ससैले आत्तिइहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ। तर, तरलता व्यवस्थापनमा भने चुनौती नै हुने सरोकारवालाहरू बताउँछन्।

बैंकिङ क्षेत्रमा साउनदेखि जारी तरलता अभावको समस्या अझै समाधान भएको छैन। अझै पनि बैंकहरू कर्जाको ठूलो माग धान्न सक्ने अवस्थामा छैनन्।

‘अहिले हामी सीडी रेसियोलाई तोकिएको अनुपात (९० प्रतिशत) मा कायम गर्नेगरी सन्तुलित ढंगले काम गरिरहेका छौं। अझै पनि केही बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि नै छ,’ उनले भने, ‘तर, अहिले निक्षेप घट्दैमा आत्तिनुपर्ने अवस्था छैन।’

माघको पहिलो साता बैंकहरूले १ अर्ब ४३ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका छन्। पुस मसान्तसम्म बैंकहरूले कुल ४१ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। माघको पहिलो साता त्यो सामान्य रूपमा बढेर ४१ खर्ब ४४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। पुस अन्तिम साता भने बैंकहरूले ३५ अर्ब कर्जा प्रवाह गरेका थिए।अभियान दैनिकबाट

Logo