मैत्रीपूर्ण फुटबल : विमलको गोलमा माैरिससमाथि नेपालकाे जित

मैत्रीपूर्ण फुटबल : विमलको गोलमा माैरिससमाथि नेपालकाे जित

केन्द्रबिन्दु
0
Shares

फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा माैरिससलाई १–० ले हराएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे। एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो। अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो। विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो। 

गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि विमल मैदानबाट बाहिर थिए। विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट ०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।

१३औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो। २६औं मिनेटमा विमल घर्तीमगरको फितलो प्रहार माैरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए। 

३५औं मिनेटमा माैरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा अञ्जनले गोलको सुनौलो मौका खेर फाले। बक्सको देब्रेभागबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो।

४६औं मिनेटमा माैरिससका फर्नान्डो ज्याक्सनको भली प्रहार पोस्टमा लागेर फर्कियो उक्त रिबाउन्ड बललाई नेपालका गौतम श्रेष्ठले क्लियर गरिदिए ।

७५औं मिनेटमा जगजित श्रेष्ठले दायाँ कर्नरबाट प्रहार गरेको फ्रिकिकमा अञ्जन विष्टले गरेको फ्लिक हेड माथिल्लो बारमा लागेर फर्कियो। 

७७औं मिनेटमा अञ्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार फेरि बारमा लागेर फर्कियो। रिबाउन्ड बललाई जगजित श्रेष्ठले हेडमार्फत पोस्टका दिशा दिन खोजे पनि माैरिससका गोलकिपर केभिन जेन लुइसले उत्कृष्ट बचाउ गरे। 

जगजित चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्। सन् २०१७ मा अस्ट्रेलिया लागेको जगजित ‘ए’ डिभिजन लिग खेल्ने नेपाल आएका थिए। उनी त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेका छन्।

नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे। सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे। दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन्। नेपालले माैरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

Skip This
Skip This
Logo