एपीएफ फुटबल क्लब : लिगमा खराब प्रदर्शन, मोफसलमा प्रतिष्ठित उपाधि

एपीएफ फुटबल क्लब : लिगमा खराब प्रदर्शन, मोफसलमा प्रतिष्ठित उपाधि

केन्द्रबिन्दु
0
Shares

कीर्तिमानी ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई घरेलु मैदानमा पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २०औं आहा रारा गोल्डकपको उपाधि जित्यो। जुन उपाधि एपीएफले पोखरा रंगशालामा पहिलो पटक जितेको हो।  

एपीएफले शनिबार आहा राराको उपाधि पहिलो पटक चुम्दा मनाङ भने घरेलु मैदानमा पहिलो हार ब्यहोर्न बाध्य भयो । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत घरेलु मैदानमा तीन खेल खेलेको मनाङले आहा रारामा पनि तीनै खेल खेल्यो। पाँच खेलमा लगातार जित निकालेको मनाङले घरेलु दर्शकमाझ छैटौं खेलमा भने अपराजित यात्रा कायम राख्न सकेन।  

निर्धारित ९० मिनेट र त्यसपछिको समयमा २-२ गोलको बराबरी भएपछि मनाङ पेनाल्टी सुटआउटमा एपीएफसँग ५-४ ले पराजित भयो। मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि पहिलो उपाधिसहित कीर्तिमानी सातौँ पटक उपाधि चुम्नबाट बञ्चित भयो। 

यता, जारी शीर्ष डिभिजनको लिगमा खराब प्रदर्शनसँगै रेलिगेसन जोनबाट बच्न संघर्ष गरिएको एपीएफले भने प्रतियोगितामा आफ्नो अपराजित यात्रा चौथो खेलसम्म राख्दै उपाधि नै जित्यो। उपाधि अघि उसले आयोजक सहारा एकेडेमीसहित अमेरिकाबाट खेल्न आएको भुटनीज युथ स्पोर्टस् क्लब, लिग लिडर मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्‍याे। 

प्रतियोगिता जित्दा एपीएफलाई फाइदा के पनि रह्यो भने, राष्ट्रिय फुटबल टोलीले अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नु । यसका लागि एपीएफले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीलाई धन्यवाद पनि दिनुपर्छ। उनले प्रशिक्षणमा बोलाएका ३४ खेलाडी नै छाडेनन्। अब्दुल्लाहले दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली तयार पार्दा आहा रारामा सहभागी क्लबले आफ्ना महत्वपूर्ण खेलाडी मैदान उतार्नै पाएनन्। 

मछिन्द्रका सात खेलाडी र मनाङका चार खेलाडी राष्ट्रिय टोलीमा छन् । जसको फाइदा एपीएफले उठायो । एपीएफका आशिष लामा मात्रै राष्ट्रिय टोलीमा छन् । 

जारी लिगको सुरूवाती चार खेलमा एक अंकसहित पुछारमा रहेको एपीएफ पाँचौं खेलमा जित निकाल्दा ११औं स्थानमा उक्लियो। नौ खेल खेल्दा हाल टोली १० अंकसहित नवौं स्थानमा छ। यो भनेको पुछारमा ३ अंकसहित रहेको फ्रेन्ड्सभन्दा सात अंक र १३औं स्थानमा रहेको च्यासल युथ (५ अंक) भन्दा पाँच अंकले माथि हो। जारी लिगका पुछारका दुई टोली दोस्रो डिभिजनमा झर्नेछन्। 

एपीएफका प्रशिक्षक कुमार थापा भने खेलाडीको मिहेनतले यो उपाधि हात पारेको बताउँछन्। उनी लिगमा कठिन अवस्थामा रहेको र त्यसका बाबजुद पनि खेलाडीले मेहनत गरेको कारण उपाधि हात पारेको मान्छन्। 

‘लिगमा जहिले पनि गाह्रो अवस्थामा थियौं। खराब अवस्थामा मोफसलमा पहिलो उपाधि जित्यौं। यो खेलाडीको मिहेनतको फल हो,’ उपाधिपछि न्युज कारखानासँग बोल्दै उनले भने।

हुन पनि हो, शीर्ष डिभिजन लिग ३ मंसिरबाट सुरु हुँदा सुरुवाती चार खेलमा एपीएफ जितविहीन रह्यो। चौथो खेलमा मात्र आएर एपीएफले अंक तालिकामा खाता खोल्यो। 

थ्री स्टारविरुद्ध एक अंक जोडेको उसले पाँचौं खेलमा अर्काे खराब लयमा रहेको फ्रेन्ड्स क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो तीन अंक जोड्यो। त्यस यता, नौ खेल खेल्दा एपीएफ ६ खेलमा अपराजित छ। समग्रमा जोड्दा लिग ६ र मोफसलमा ४ गर्दा एपीएफ १० खेलमा अपराजित छ। 

पछिल्ला खेलहरूमा राम्रो हुँदै जानुको पनि कारण छ, त्यो हो खेलाडीको मनोबल र विदेशी खेलाडी थपिनु । २०६३ सालमा ‘वाइल्ड कार्ड’ मार्फत सिधै शीर्ष डिभिजन लिग खेलेको एपीएपले कहिले पनि लिगमा ठूलो टिम बनाएन । अनि राम्रो स्थान पनि हासिल गरेन । यसपटकसमेत सोही भयो, लगातार खराब प्रदर्शनपछि रेलिगेशन जोन । 

तर क्लबसँग एसियाली फुटबल महासंघ (एएफसी)का सम्पूर्ण मापदण्ड पूरा गरेका कारण ‘एएफसी क्लब लाइसेन्स’ थियो, यो भनेको विभागीय टोलीले पनि विदेशी खेलाडी राख्न पाउनु। एपीएफले पनि विदेशी खेलाडी राख्न प्रशासनमा दबाब थियो। तर नेपाली फुटबलमा कान्छो विभागीय रहेका कारण एपीएफले सुरुमा त साहस पनि गरेन। त्रिभुवन आर्मी फुटबल क्लबले लाइसेन्स पाए पनि विदेशी खेलाडी ल्याउन वास्तै गरेन। लगातार तीन पटक ए डिभिजन जितेको पुलिसले अझै लाइसेन्स पाएको छैन । 

यस्तो अवस्थामा प्रशिक्षक कुमार थापा एपीएफ प्रशासन रुझाउन लागे । जसमा उनलाई मिडियाले पनि सहयोग गरे । एन्फाले नगर्ने कुरा भएन । 

‘लिगमा नेपाली खेलाडीबाट खेल्छौं भनेर ढुक्क थियौं। तर गोलरक्षक घाइते, डिफेन्स लगायत घाइते हुँदा हामी विदेशी खेलाडी लिनेमा पुग्यौं। विदेशी खेलाडीको आगमनसँगै टोलीले लय समातेको छ,’ मनाङलाई आफ्नो कप्तानीमा तीन पटक लिगको उपाधि दिलाएका सफल खेलाडी थापाले भने। 

हाल एपीएफमा तीन विदेशी खेलाडी छन्। जापानका गोलरक्षक युया कुरियामा मालीका अडामा डोउम्बिया (चार खेल) र चाडका अर्माण्ड बेअमोउम, यी खेलाडीसँगै कप्तान टोपबहादुर बिष्ट र युवराज खड्का रिकवरी बाहिर आउनु एपीएफका लागि सुखद् पक्ष हो। 

गोलरक्षक यायाले लिगमा पाँच खेल खेल्दा दुई क्लिन सिट राखेका छन् । डिफेन्सका बाबजुद प्रदर्शन गरेका अडामाले चार खेल खेलका छन् भने अर्माण्डले एक खेल खेलका छन् ।

यी खेलाडीको आगमनसँगै एपीएफले आफ्नो लय समातेको छ र मोफसलमा एउटा उपाधि जितिसकेको छ। अब एपीएफले लिगका बाँकी चार खेलमा आफूलाई राम्रो स्थान दिने योजना बनाएको छ। साथै उसले आफ्नो अपराजित यात्रालाई १० बाट लम्ब्याउने लक्ष्य राखेको छ। 

अब, लिगका बाँकी खेलमा एपीएफले संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ । 

‘चार खेल छ । टप टोली छन्। यसमा हामी सचेत छौं। हामीले यहाँ (पोखरामा) मनाङ र मछिन्द्रलाई हराएको पनि छौं। त्यहाँ (उपत्यकामा) हराउन सक्दैनौं भन्ने हुँदैन। खेलाडीमा मनोबल छ। हामी रेलिगेशन जोनबाट ढुक्क छैनौं, तर नकआउट प्रतियोगिता जित्दा मनोबल बढेको छ। हामी १० खेलमा अपराजित छौ । खेलाडीमा विश्वास पलाउनु त्यो ठूलो कुरा हो। अपराजित यात्रालाई कायम राख्न चाहन्छौं। यति गर्दा हामी बच्छौं पनि,’ थापा भन्छन्।न्युज कारखाना 

एपीएफका पछिल्ला १० खेल र नतिजा : 

थ्री स्टार क्लब ०–० एपीएफ फुटबल क्लब

फ्रेन्ड्स क्लब १–३ एपीएफ फुटबल क्लब

न्यरोड टिम एनआरटी ३–३ एपीएफ फुटबल क्लब

त्रिभुवन आर्मी फुटबल क्लब १–१ एपीएफ फुटबल क्लब

जावलाखेल युथ क्लब ०–० एपीएफ फुटबल क्लब

हिमालयन शेर्पा क्लब ०–१ एपीएफ फुटबल क्लब

सहारा एकेडेमी ०–२ एपीएफ फुटबल क्लब

भुटनीज युथ स्पोर्टस् क्लब १–३ एपीएफ फुटबल क्लब

मछिन्द्र फुटबल क्लब १–३ एपीएफ फुटबल क्लब

मनाङ मर्स्याङ्दी क्लब २–२ (४–५) एपीएफ फुटबल क्लब ।

Skip This
Skip This
Logo