वाणिज्य बैंकको स्प्रेडदर औसत ३ प्रतिशत, कर्जाको ब्याजदर महँगिने संकेत

वाणिज्य बैंकको स्प्रेडदर औसत ३ प्रतिशत, कर्जाको ब्याजदर महँगिने संकेत

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकको औसत कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) ३ प्रतिशत कायम भएको छ। गत आव २०७७/७८ को दोस्रो त्रैमासमा औसत ४ दशमलव शुन्य ६ प्रतिशत रहेको स्प्रेडदर यो अवधिमा १ दशमलव शुन्य ६ विन्दुले घटेको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मार्फत वाणिज्य बैंकहरूलाई स्प्रेडदर ४ दशमलव ४ प्रतिशत कायम गर्न भनेको छ। स्प्रेडदर भनेको बैंकहरूले निक्षेपमा लिने ब्याजदर र कर्जामा दिने ब्याजदरबीचको अन्तर हो। स्प्रेडदरले बैंकहरूको कमाइलाई देखाउने गर्छ। स्प्रेडदर जति धेरै भयो त्यति धेरै बैंकहरूले कमाउने गर्छन्।

गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको स्प्रेडदर शुन्य दशमलव शुन्य १ विन्दुले वृृद्धि भएको छ। यो बैंकको गत आवको दोस्रो त्रैमासमा स्प्रेडदर ४ दशमलव ३७ प्रतिशत रहेको थियो। चालु आवको सोही अवधिमा यो स्प्रेडदर ४ दशमलव ३८ प्रतिशत कायम भएको छ।

स्प्रेडदर घटेसँगै बैंकको नाफामा प्रत्यक्ष प्रभाव पार्ने गरेको बैंकरहरूले बताएका छन्। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका अनुसार निक्षेपको ब्याजदर बढेका कारण चालु आवको दोस्रो त्रैमासमा स्प्रेडदर घटेको हो। ‘स्प्रेडदर घट्दा बैंकको नाफामा प्रत्यक्ष प्रभाव परेको हुन्छ। गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकहरूको नाफा बढेको भएपनि यो व्यवसाय विस्तारअनुरूप नाफा बढेको होइन,’ उनले भने ।

कर्जाको ब्याजदर स्थिर भएको र निक्षेपको व्याजदर वृद्धिका कारण चालु आवको दोस्रो त्रैमासमा स्प्रेडदर घटेकाले आगामी दिनमा कर्जाको ब्याजदर बढ्ने अधिकारीले जानकारी दिए।

‘बैंकहरूको स्प्रेडदर घटेसँगै नाफामा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। आगामी दिनमा बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर महँगो हुन्छ,’ उनले भने।

बैंकहरूले ब्याजदर बढाएर प्रतिस्पर्धा गरेपछि राष्ट्र बैंकले सर्कुलर जारी गरि बचत र मुद्दती निक्षेपको ब्याजदर अन्तरलाई कडाइ गरेका कारण बैंकको स्प्रेडदरमा प्रत्यक्ष प्रभाव परेको नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिए। ‘राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा मुद्दती निक्षेपको र बचतबीचको ब्याजदरको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक हुन नहुने व्यवस्था गरेपछि सबै बचतको दर पनि बढ्यो। बचतको दर बढेका कारण कोषको लागत पनि बढ्यो । यसले गर्दा बेस रेट बढेको छ भने स्प्रेडरेट घटेको छ,’ उनले भने ।
 
 ११ बैंकको स्प्रेडदर औसतभन्दा बढी 
चालू आवको दोस्रो त्रैमासमा ११ वटा वाणिज्य बैंकको स्प्रेडदर औसतभन्दा बढी रहेको छ। चालु आवको दोस्रो त्रैमासमा स्प्रेडदर औसतभन्दा बढी हुनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया, ग्लोबल आइएमई, प्राइम कमर्शियल, नबिल, कुमारी, प्रभु, नेपाल एसबीआई, सिटिजन्स र सिभिल बैंक रहेका छन् । यी बैंकको स्प्रेडदर ३ प्रतिशतभन्दा बढी छ। औसतभन्दा कम अर्थात् स्प्रेडदर ३ प्रतिशतभन्दा कम भएका बैंक १६ वटा रहेका छन्।अभियान दैनिकबाट

Skip This
Skip This
Logo