महाधिवेशन छिटो गराउन नेविसंघद्वारा कांग्रेस नेतृत्वमाथि दबाब

महाधिवेशन छिटो गराउन नेविसंघद्वारा कांग्रेस नेतृत्वमाथि दबाब

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले संघको महाधिवेशन शीघ्र गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन्।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन्। 

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरि संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दवाव दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताए। त्यसक्रममा विद्यार्थीहरुले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दबाब दिँदै पार्टीका केन्द्रिय सदस्य एवम् नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्र पनि बुझाएका छन्। अभिभावकलाई पत्र भनेर बुझाएको सो अनुरोधपत्रमा तत्काल तदर्थ समिति गठन गरि नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको पनि जोशीले बताए।

सो पत्र बुझ्दै कांग्रेस केन्द्रिय सदस्य महरले नेविसंघ लगायतका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरुलाई अनौपचारिकरुपमा दवाव दिँदै आएको र अब बस्ने केन्द्रिय समिति बैठकमा औपचारिकरुपमै छलफल गराउने प्रतिवद्धता जनाए । उनले पार्टी पदाधिकारीहरुसमेत भातृ संस्थाहरुको महाधिवेशन छिटो गराउन गम्भिर नभएको उल्लेख गर्दै उनीहरुमाथि दबाब दिन नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई आग्रह गरे । 

पार्टीको विधान र संघीयताको भावना अनुसार कांग्रेस भातृ संस्थाहरुको विधान मस्यौदा भए पनि पार्टीले स्विकृती नदिएका कारण नेविसंघ लगायतका भातृ संस्थाहरु पुरानै विधानमा चलिरहेका छन्। जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि छिटोभन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ।

Logo