नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघ लगायतका पार्टीका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन्। महामन्त्री शर्माले नेविसंघ लगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताए।
सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरुसँग कुरा गर्दै उनले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताए । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका उनले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको पनि बताए।
महामन्त्री शर्माले आफू बोलेरभन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहोर्याए। उनले आफूहरु पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरुलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए । त्यस अवसरमा विद्यार्थी नेताहरुले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए।





























प्रतिक्रिया