प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरि गृहकार्य सुरु गरेका छन्।
अहिलेसम्म औपचारिकरूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन। देउवाले एक महिनामा एकजनालाई नियुक्त गर्ने गरेका छन्। निजी सचिवालयले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाका हरेक गतिविधिबारे मिडिया र नागरिक जानकारविहीन बन्न पुगेका छन्।
प्रधानमन्त्री देउवाले अहिलेसम्म स्वकीय सचिवमा भानु देउवा, कानुनतर्फ केशवराज जोशी, जनसम्पर्कतर्फ जनार्दन नेपाललाई मात्र औपचारिक रूपमा नियुक्त गरेका थिए। सोमबार प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन्। यस्तै, प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन्। देउवाले मंगलबार नुवाकोटका गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन्।
अझै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति तोके पनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै निजी सचिवालयलाई पूर्णता दिन लागेको बुझिएको छ। प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने मोटामोटी सहमति भइसकेकाले अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा.प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ। तर, कांग्रेस उच्च स्रोतले लेखकलाई पार्टी प्रवक्ता बनाउने तयारी भएकाले डा.महत नै प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने छन्।
परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराई नै पुनः दोहोरिने भएका छन्। उनी यसअघि सुशील कोइराला र देउवाको परराष्ट्र सल्लाहकार भइसकेका छन्। पत्रकार गेजा शर्मा वाग्लेले पनि परराष्ट्र सल्लाहकार बन्ने इच्छा व्यक्त गरेका छन्।
सबैभन्दा बढी चासो भने प्रधानमन्त्रीको प्रेस सल्लाहकार को बन्छ भन्ने देखिएको छ। अहिले प्रधानमन्त्रीको प्रेसको काम पत्रकार गोविन्द परियारले गर्दै आएका छन्। अघिल्लोपटक परियार देउवाको सञ्चार विज्ञ नियुक्त भएका थिए। यसपटक उनले प्रेस सल्लाहकार बन्ने इच्छा राखेका छन्।
प्रेस सल्लाहकारमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको पनि चर्चा छ। यसपटक देउवा सिग्देललाई कुनै न कुनै भूमिका दिने मनस्थितिमा छन्।





























प्रतिक्रिया