नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताए । उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए । उनले सत्ता महागठबन्धन लोभी पापीहरूको झुन्ड भएको र संसद्को काम कारबाहीलाई सुचारु रूपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए ।
सचिव रायमाझीले भने, ‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ ? त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन । सरकारले आफ्नो पोजिशन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । किनभने यो सभामुख विधिसम्मत तरिकाले, देशको कानुनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौँ । हाम्रो विषयमा पनि कुरा छ । हामी निश्चित रूपमा आफ्नो निर्णय गर्यौं । किनभने पार्टी फुटाउने कुरा एमाले र माओवादी बन्नुपर्छ भनेर सर्वोच्चले गर्ने कुरा होइन, पार्टीहरूले गर्ने कुरा हो भन्दा पनि त्यो भयो । त्यसपछि हामीले आफ्नो स्वविवेक प्रयोग गरेका हौँ । यो महागठबन्धन लोभी पापीहरूको एउटा झुन्ड हो । यस्तो सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए । उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए ।
कांग्रेसले सभामुखलाई महाअभियोग लगाए हामी साथ दिन्छौँ: टोपबहादुर रायमाझी (भिडियाे)
कांग्रेसले सभामुखलाई महाअभियोग लगाए हामी साथ दिन्छौँ: टोपबहादुर रायमाझी (भिडियाे)
Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, 2 February 2022































प्रतिक्रिया