- सप्रस पाैडेल
………….
महाराज,
पहिलेका जनता पो जनता
अहिलेका जनता
के जनता ?
कुरो पहिलेकै हो-
यता हाल भन्दा
खुरुखुरु भोट हाल्थे
यता फाल भन्दा
लुरुलुरु ज्यान फाल्थे,
पहिलेका जनता पो जनता
अहिलेका जनता
के जनता ?
जनताहरु कामै नलाग्ने भैसके
यी त हामीभन्दा भ्रष्ट भएर गैसके
भोट देउ भन्दा 'नो भोट' माग्छन्,
चुपलाग भन्दा जाग्छन्,
झण्डा बोक भन्दा भाग्छन्,
यी केलाई पो काम लाग्छन् ?
चारजना चोरहरुको चोर सभा बस्यो
एउटाले चोरको खुट्टो काट् भन्यो
सबैले खुट्टो उचाले,
हामी चोर होइनौं भने
जनतालाई सोधे
चोरै हौ भनी मुख फर्काए
राता मुख बनाएर
होइन पत्याउँदैनौं भन्नसम्म भ्याए ।
एउटाले अर्कोलाई सियो चोर भन्यो
अर्कोले चर्कोलाई फाली चोर भन्यो
चर्कोले झर्कोलाई विदेशी चोर भन्यो
झर्कोले लर्कोलाई नेपाली चोर भन्यो ।
चोरबीचमा चोरहरुकै
पोल खोलाखोल भयो
कुन चाहिँ ठूलो चोर
तौलातौल भयो ।
यी जनता आरोप मात्रै लाउँछन्,
यी कसका जनता हुन्
कसका गीत गाउँछन् ?
यस्ता जनता कसका मनमा छाउँछन् ?
महाराज,
यी जनता,
दालभात डुकु र रोजगारीमा बिकिसके।
काम नलाग्ने गरि बिग्रिसके
पहिलेका जनता पो जनता
अहिलेका जनता
के जनता ?
-हेटौंडा, मकवानपुर































प्रतिक्रिया