ललितपुरको झरुवारासीस्थित बज्र ईंटा उद्याेगमा हर्क बुढामगर काँचो ईंटा छोपिएको प्लाष्टिक निकाल्दै गरेको अवस्थामा भेटिए। प्लाष्टिक निकालेपछि उनी एकोहोरो हेरिरहे। अनि भने, ‘लौ प्लाष्टिकले छोपे त ईंटा बच्दो रहेछ।’ उनी खुसी भए।
बुढामगर पहिलोपल्ट ईंटा बनाउन सिन्धुलीदेखि काठमाडौं झरेका हुन्। यसकारण ईंटा भट्टाको दुःख र खुसी उनी पहिलोपल्ट भोग्दैछन्। तीन महिनाअघि दाजु जंगबहादुरसँग बज्रबाराहीको बज्र ईंटा भट्टामा ईंटा बनाउन थालेपछि तीन पल्ट झरी परिसकेकाे छ। 'झरीले तीनै पल्ट ईंटा नास गरेकाे छ।' सुस्केरा हाल्दै उनले भने, ‘भगवानले पनि गरिखान नदिने रहेछन् गरिबलाई ।’ मजदुरले भट्टाकाे खलामा बनाएर राखेको ईंटाको पैसा नपाउँने उनी बताउँछन् । उनी भन्छन्, ‘चाङ लगाएको चाँही पाइने रहेछ।’ यो बर्ष झण्डै ६ हजार ईंटा बनाए पनि पैसा पाइएन । पानी रोकिएपछि फ्याँक्दैकाे हैरान मात्रै भाे ।’
उनका अनुसार भट्टाको बसाइ झन् कष्टकर छ। काँचो ईंटाले बनाएको होचो झ्याउलीमाथिको जस्तापाताले रातभर चिसो पठाउँछ। मुछेको माटो र पानीको कुलोले सिमसार बनेको फाँटमा रातभर सिरेटो आउँछ । झरी पर्दा काँचो ईंटा पग्लेर झ्याउली भत्केर हैरानी खेपेको बुढामगर बताउँछन्। शुक्रबारकाे झरीले उनको झ्याउली फेरि भत्कियो। 'दिनभर भिजेर दाजुभाईले बनायाैं ।' उनी भन्छन्,‘पानी परेर भित्र हिलो भयो ईंटा हालेर राखेका छौं।’
बज्र ईंटा भट्टामा विशाल मोक्तान पनि निराश अवस्था भेटिए । उनले पनि झरीका कारण ६ हजारभन्दा बढी ईंटा खेर गएको गुनासो गरे। उनले भने, ‘अझै एक साता काम हुँदैन। घाटा त कति हो कति।’ पानी परेपछि बनाएको ईंटा त खेर जान्छ नै। भट्टामा परेको पानी नसुकेसम्म अर्को ईटा बनाउन मिल्दैन। जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ।
यो सिजनमा लगातार पानी परेकाले पैसा बचाएर घर लैजान मुस्किल पर्ने उनी बताउँछन्। भन्छन्, ‘पहिले नै बैना लिएको हुन्छ। त्यो पैसा तिर्यो । परिवार पाल्यो । यही हो कमाइ। ’ काम गर्न नसक्नेले भट्टाबाट ऋण बोकेर जानुपर्ने अवस्था आउने उनले बताए। उनका अनुसार धेरै परिवारका सदस्य र काम गर्ने मान्छे थोरै हुनेहरू रोएर फर्कने गर्छन्।
बज्र भट्टाबाट काम गर्न नसकेर २-३ परिवार बिस्तापित भइसकेको मजदुर भरत थामी बताउँछन् । ‘पैसा भने जति नकमाएपछि बस्न मनै हुँदैन। साहुले पनि दिने अवस्था हुँदैन,’ उनी भन्छन् । थामीका अनुसार पछिल्ला बर्षहरूमा ईंटा भट्टामा काम गर्ने मजदुरहरूलाई सजिलो हुँदै गएको छ। पहिले माटो आफैंले मुछेर ईंटा बनाउनु पर्थ्याे । अहिले भट्टा आफैंले माटो मुछेर ल्याइदिन्छ। पानी पर्दा छोप्न प्लाष्टिक पनि दिन्छ। बस्नलाई झ्याउली बनादिन्छ।'
तीनपल्ट पानी पर्दा दसाैँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनिराम महर्जन बताउँछन्। मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन्। भन्छन्, लोगो नदेखिएको मात्रै हामीले नलिने हो। अरु सबै उठाउँछाैं। हरेक झरीपछि क्षति हुने हुँदा ईंटाको भाउ समेत बढ्ने सम्भावना हुन्छ।'





























प्रतिक्रिया