मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भारत साहले प्रदेश प्रहरी गठन, संचालन तथा भर्नाको माग गर्दै संघीय सरकारलाई दबाब दिन प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।
संघीय सरकारले प्रहरी सम्बन्धी ऐन र प्रहरी कर्मचारी समायोजन ऐन बनाइ राष्ट्रपतिद्वारा प्रमाणिकरण भइसकेको अवस्थामा बनेको प्रदेश प्रहरी ऐन कार्यान्वयमा आउन नसकेकोले संकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराइएको मन्त्री साहले बताए।
संकल्प प्रस्ताव सचिवालयमा आइतबार नै दर्ता भए पनि सभामा समय अभावले टेबुल हुन नसकेको मन्त्री साहले बताए। मन्त्री साहले प्रदेश सभामा दर्ता गराएको पत्रमा प्रदेश प्रहरी गठन, समायोजन, सञ्चालन तथा भर्ना सम्बन्धी प्रकृया विगत तीन वर्षदेखि संघीय सरकारले असंवैधानिक तथा गैरकानुनी तारिकाले अवरुद्व गरिरहेकोले बाध्य भएर संकल्प प्रस्ताव पेश गरेको उल्लेख छ।
‘संघीय सरकारको गैरकानुनी र असंबैधानिक कदमविरुद्व अन्य कुनै प्रभावकारी उपायको अभावमा सम्मानित प्रदेशसभा समक्ष बाध्य भएर संकल्प दर्ता गराई प्रदेश प्रहरी गठन तथा भर्ना प्रक्रिया अगाडि बढाउन प्रदेशसभा नियमावली २०७५ को नियम ८५ (१) बमोजिम निर्देशन गर्न पत्रमा उल्लेख गरिएको छ। संविधान विपरित संघिय सरकारले प्रहरी सम्बन्धी कुनै भर्ना प्रक्रिया अगाडि बढाए प्रदेश सरकार संघिय सरकारविरुद्ध अदालत जाने मन्त्री साहले चेतावनीसमेत दिए।





























प्रतिक्रिया