प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुने बताइएकाे छ। आजको बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब बढाएको छ। आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो।
आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए। भेटमा उनले मन्त्रिपरिषद्को अबको बैठकबाट निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए।
प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार छलफल गरेका थिए।
स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ पहिलो हप्ता सकिँदैछ। सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।





























प्रतिक्रिया