पार्टी परित्याग गर्दै कमल थापाले भने, ‘माग सुनुवाई नभएपछि अप्रिय निर्णय लिएँ’

पार्टी परित्याग गर्दै कमल थापाले भने, ‘माग सुनुवाई नभएपछि अप्रिय निर्णय लिएँ’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन्। 

गृह नगर हेटौंडा पुगेर थापाले एक विज्ञप्ति जारी गरि आफ्नो मागको सम्वोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको जनाएका हुन्। विज्ञप्तिमा उनले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको उल्लेख गरेका छन्। 

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गरेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमा मै रमाउने उत्कृष्ट चाहाना भएतापनि आफ्नो कुराको सुनुवाई नुहने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ।’ 

सोमवार काठमाडौंमा आफू निकट राप्रपाका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृह जिल्ला मकवानपुर पुगेर गरेका हुन्। 

‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु’ थापाले पूर्व उपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीमा रहँदा बिताएका क्षणहरु प्रति म सदैव गौरब गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो बैरभाव छैन, सबैको भलो होस भन्ने कामना गर्दछु।’ 

थापा गत मंसिर १५–१८ मा भएको महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आएका थिए। उनले २७ मंसिरमा अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो विषयमा छानबिनको माग गरेका थिए। १६ माघमा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप थापाले लगाउँदै आएका थिए ।

Skip This
Skip This
Logo