एमालेले सातवटै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

एमालेले सातवटै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) ले सातै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्थानीय तह निर्वाचनको तयारीका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगाामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। महासचिव शङ्कर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएको उनले बताए। स्थानीय तहको निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो। 

दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन काठमाडौँबाट एकै साथ अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् । उद्घाटनमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी रहनेछन् । 

प्रचार विभाग उपप्रमुख रिजालका अनुसार प्रशिक्षण कार्यक्रम प्रदेश नं १ मा फागुन १ र २ गते विराटनगरमा, मधेस प्रदेशको फागुन ३ र ४ गते जनकपुरमा, बागमती प्रदेशको फागुन ६ र ७ गते काठमाडौँमा, गण्डकी प्रदेशको फागुन ८ र ९ गते पोखरामा, लुम्बिनी प्रदेशको फागुन ११ र १२  बुटवल र दाङमा, कर्णाली प्रदेशको फागुन १४ र १५ गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको फागुन १६ र १७ गते धनगढीमा हुनेछ। 

प्रशिक्षणमा दशौँ राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषय, स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभव, स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानूनी र व्यवहारिक पक्षका विषयमा विभिन्न नेताले दिने प्रशिक्षण हुनेछ। 

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इञ्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गत सबै जिल्ला कमिटी इञ्चार्ज, सहइञ्चार्ज सहभागी हुनेछन्। सबै जिल्ला कमिटी पदाधिकारी, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख, एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख, एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुख पनि प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। 

Logo