अबकाे १५ दिनमा कमलपोखरीको उद्घाटन गर्छौं : मेयर शाक्य

अबकाे १५ दिनमा कमलपोखरीको उद्घाटन गर्छौं : मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करिब–करिब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिएका छन्। 

पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यीकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। ‘काठमाडौँ महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भने, ‘ ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ।’ पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरीलाई विकास गरिने उनले बताए।  

उनले पोखरी पुनर्निर्माणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिला भएको बताए। ‘ठेकेदारको पनि कोभिडको कारण देखाएर ढिला–सुस्ती गर्दा काम समयमा सम्पन्न गर्न केही कठिनाई भयो,’ उनले भने, ‘निर्माण कार्यको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप पोखरीको किनारमा ९ वटा चैत्यको प्राणप्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम ठेकेदारले १५ दिनभित्र सम्पन्न गर्छौं भनेका छन्। हामी पहिलो चरणको काम सम्पन्न हुने वित्तिकै कमलपोखरीको उद्घाटन गर्नेछौँ र दाेस्रो चरणको काम सँगसँगै सुरुवात गर्छौं।’

उनले चैत्यसँगै यहाँको साँस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपण गर्ने तयारी भएको पनि जनकारी दिए। ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भु घुम्न आउने पर्यटकलाई समेत आकर्षित गराउने उद्देश्यका साथ पोखरी पुनर्निर्माणको काम अघि बढाएका छौँ,’ उनले भने, ‘छिटै कमलपोखरीको उद्घाटन गरि यहाँको सम्पदालाई पर्यटनसँग जोड्छौँ।’

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उनको भनाइ छ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफूलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिइन्। ‘यो ऐतिहासिक कमलपोखरी हो,’ उनले भनिन्, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ। मेरो घर कमलपोखरीबाट नजिकै छ। बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिनका लागि यो उपयुक्त ठाउँ हुने भयो।’

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले करिब २३ रोपनी क्षेत्रफलमा पुनर्निर्माण भैरहेको कमलपोखरी सहरी सौदर्य अभिवृद्धिका लागि उपयुक्त हुने बताए। उनले छठ बाहेक पनि हरियालीको मनोरञ्जन दिँदै घुमिफिर गर्न र आकर्षक सहरी सौन्दर्यका रुपमा यो पोखरी उपयुक्त हुनेमा आशावादी रहेको बताए। 

Skip This
Skip This
Logo