काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका छन् ।
बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताए । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरूको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए ।
मेयर शाक्यले भने, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ । विकास निर्माणका काम भनेको निरन्तर रूपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन । एउटा सकिन्छ, अर्को काम सुरु हुन्छ । यो निरन्तर रूपमा चलिरहन्छ । हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’
मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए भयो । उनले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताए ।
मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सहर हो । जता हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पार्टी पौवाहरू प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रो लागि सम्पदा बनेका छन् । सम्पदालाई संरक्षण गर्नु, प्रवर्द्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ । त्यहीअनुसार हामीले सुरु देखि नै भनिरहेका छौँ । यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्त्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौँ भनेका थियौँ । त्यहीअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौँ ।’
मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रूपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिबद्धता समेत बताए । उनले रानीपोखरीको केही काम बाँकी रहेकोले काम सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गर्ने पनि बताए ।
महानगरको मेयरमा विद्यासुन्दर शाक्यको पुनः दाबेदारी ?
Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, 9 February 2022





























प्रतिक्रिया