आफ्नै घर बनेपछि रामुकारको खुसी

आफ्नै घर बनेपछि रामुकारको खुसी

केन्द्रबिन्दु
0
Shares

छेउमा २ कोठे पक्की घर छ । प्रत्येक घरका परिवारका सदस्यहरू घरतर्फ हेर्दै टोलाइरहेका छन् । बालबालिका कोठाभित्र रमाइरहेका छन् । कोही घरको सिगारपेटारमा व्यस्त छन् । अगाडि सम्सी-माइस्थान सडकखण्डमा हुइँकिनेहरू एकनासले बनेका घरहरूलाई हेरेर मात्र ओहोरदोहोर गर्छन् । सडकको वारिपारि पशु-चौपायाका गोठ जस्तो देखिने केही छाप्राहरू पनि छन् । अनि यही वस्तिको दायाँ भागमा वडा कार्यालय छ ।  वृद्धहरूको चाउरी परेको अनुहारमा स्पष्ट खुसी देख्न सकिन्छ । 

यो कुनै चलचित्रको दृश्य हैन न त काल्पनिक कथा नै । गौशाला वडा न.२ स्थित मुसहर बस्तीमा पुगेपछि यस्ता दृश्यहरू जोकोहीले नियाल्न पाउँछन् । जन्ता आवास अन्तर्गत मुसहर बस्तीका मुसहरहरूको  जीवनमा नै पहिलो पल्ट आफ्नै घर बने पछिको खुसीयाली हो यो । 

रामपुकार सादालाइ अघिल्लो हिउँद र वर्षा फर्केर सम्झन पनि मन लाग्दैन । हुन त सरकारले  आफ्नै २ कोठे भवन बनाइदिने घोषणा गरेपछी रामपुकारका झन्डै ४ बर्ष प्रतीक्षामा नै दिनचर्या बिताउनु पर्‍यो । अघिल्लो हिउँद मात्र हैन उनले बितेको ४ बर्ष उस्तै पिडामा बिताए । 
पक्की घर बन्नुभन्दा पहिला अस्थायी टहरामा बस्दै आएका रामपुकारले हिउँद र बर्षायाममा भोगेको दुःख र पीडा सम्झिनसक्नुको छ ।

`बर्षायाममा छानो छिचोलेर पानी चुहिनाले वर्षाभरि छोराछोरी बिरामी भए । वृद्ध आमा बिरामी परिन । ´ उनले भने ।

बिहान-बेलुका मजदुरी गरेर परिवारको लागी जीविकोपार्जनको माध्यम बनेका रामपुकारले बिरामी भएकै कारण काम गर्न नपाउँदा कयौँ रात पानी पिएर सुतेको नमिठो अनुभव छ ।

मानिसलाई नाना, छाना र खाना अत्यावश्यक छ तर गरिबी र मजदुरी गर्ने वातावरण बन्न नसक्दा रामपुकार बितेको ४ वर्षसम्म निक्कै कष्टकरसग जीविकोपार्जन गरे ।

`मैले सरकारले घर बनाइदिन्छु भनेपछि भएको टहरालाई समेत भत्काएर पूर्ण अस्थायी टहरामा बसे तर सितलहर, गर्मी र वर्षाले सार्‍है बिजोग बनाएको थियो । उनले भने ।

त्यसो त रामपुकारले यस्तै समस्या कयौँ बर्षदेखी नभोगेका हैनन् तर सरकारले घर बनाइदिने भनेपछि अस्थायी टहरामा ओत लाग्दा  बितेको ४ बर्ष निक्कै कष्ट बन्यो ।

रामपुकार जस्तै अहिले यस बस्तीका १९ घरपरिवारमा खुसीयाली छाएको छ । सरकारले छानाको व्यवस्था गरेपछी आधा समस्या नै निराकरण भएको मुसहर समुदायको बुझाइ छ ।

अहिले यस वडा न.२ मात्र १९ घर बनेका छन् । गौशाला नगरपालिकाभरी झन्डै ९१ वटा घर बन्ने तयारी भएको जनप्रतिनिधिको भनाइ छ ।  

जन्ता आवास अन्तर्गत नै गौशाला स्थित फुल्का, खयरमारामा पनि  धमाधम घर बन्दै छन् । पछिल्लो समय जलवायुमा भएको परिवर्तनले गरिब, विपन्न तथा पिछडिएका वर्गहरूमा सुरक्षित आवासको व्यवस्थापन हुन नसक्दा निक्कै समस्या बन्दै गएको छ ।

Logo