सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा नेपालमा उत्पादित बियरबाट साढे १३ अर्ब रुपैयाँभन्दा बढी अन्तःशुल्क संकलन गरेको छ।
पुस मसान्तसम्ममा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड रुपैयाँ अन्तःशुल्क असुल गरेको सरकारले बियरबाट १३ अर्ब ६४ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको हो। यो परिमाण गत आवको सोही अवधिको तुलनामा ४८.८५ प्रतिशत बढी हो। अघिल्लो आवको ६ महिनामा सरकारले देशमै उत्पादन भएको बियरबाट ९ अर्ब १६ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको थियो ।
सरकारले बियरमा अन्तःशुल्क बढाउनुका साथै उत्पादन र खपत पनि बढेकाले अन्तःशुल्क बढी उठेको आन्तरिक राजस्व विभागमा सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए। प्रतिलिटर बियरमा १६५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा यस वर्ष बढाएर १९५ रुपैयाँ पुर्याइएको छ ।
चालू आर्थिक वर्षमा कोरोनाले ठप्प भएका उद्योग सुचारु हुँदा उत्पादन र खपत बढेको छ। “‘एक त अन्तःशुल्कको दरमा केही परिवर्तन भयो। त्यसमाथि आर्थिक गतिविधिहरु सुचारु हुँदा उत्पादन र खपत पनि बढ्यो,” प्याकुरेलले भने ।
त्यस्तै, मदिराबाट सरकारले ६ महिनामा १३ अर्ब ८६ करोड अन्तःशुल्क उठाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो। चालू आर्थिक वर्षको ६ महिनामा सरकारले चुरोट र सुर्तीबाट ११ अर्ब ९१ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको ६ महिनामा ९ अर्ब २२ करोड संकलन गरेको सरकारले चुरोट र सुर्तीबाट यस वर्ष २९ प्रतिशतभन्दा धेरै कर उठाएको हो ।
अन्तःशुल्क अन्तर्गत पर्ने अन्य उत्पादनहरुबाट पनि सरकारले पुस मसान्तसम्ममा राम्रो आम्दानी गरेको छ। गत वर्ष ७ अर्ब ६९ कराेड अन्तःशुल्क उठाएको सरकारले यस वर्ष अन्य उत्पादनबाट ११ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ।
चालू वर्षको पहिलो ६ महिनामा सरकारले आन्तरिक उत्पादनबाट संकलन गरेको अन्तःशुल्क अघिल्लो आर्थिक वर्षको भन्दा ३४.०४ प्रतिशत बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत वर्ष सोही अवधिमा सरकारले ३७ अर्ब ८४ करोड रुपैयाँ अन्तःशुल्क आन्तरिक उत्पादनबाट उठाएको थियो। यस वर्ष आन्तरिक उत्पादनबाट ५० अर्ब ७२ करोड रुपैयाँ अन्तःशुल्क उठाएको सरकारले पैठारीबाट ३४ अर्ब ५१ करोड गरि कुल ८५ अर्ब २३ करोड रुपैयाँ संकलन गरेको छ।काराेबार दैनिकबाट































प्रतिक्रिया