नेपालमा एक हजारभन्दा कम वक्ता भएका ३७ भाषा सङ्कटमा

नेपालमा एक हजारभन्दा कम वक्ता भएका ३७ भाषा सङ्कटमा

केन्द्रबिन्दु
0
Shares

एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ। अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आयोजना गरेको ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ मा ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको छ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वृत्ति दिएर ती भाषा संरक्षणका काम सुरु गरेको बताए। सो अवसरमा डा बालकृष्ण बलले भाषा अनुवादको यान्त्रिक प्रक्रिया, डा. सोमबहादुर धितालले ‘धिमाल भाषा र संस्कृतिको सम्बन्ध’ एवं सुलोचना मानन्धरले ‘नेपालका विभिन्न मातृभाषामा प्रचलित लोककथा, जनजीवन तथा वातावरणबीचको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा संरक्षणमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले इन्द्रेणीमय विविधता बोकेको समाजमा सबै मातृभाषाको संरक्षण गर्न सहयोग पुगोस् भनी कार्यक्रम आयोजना गरिएको बताए। इतिहासमा विविधतालाई नचिन्दा द्वन्द्व भएको सुनाउँदै उनले अब त्यस्तो हुन नदिन यस्ता कार्यक्रमले योगदान गर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संविधानमा व्यवस्था भएअनुसार मातृभाषामा शिक्षा दिन सबै खाले पूर्वाधार एवं जनशक्तिको व्यवस्थापन हुनुपर्नेमा जोड दिए। मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए। प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले मातृभाषामा शिक्षा दिन विभिन्न विश्वविद्यालय एवं सरोकार भएका निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिए। विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएकाले त्यसो हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा युनेस्कोका प्रतिनिधि निर्जना शर्मा, बङ्गलादेशी राजदूतावासका प्रतिनिधि इसरत जहाँ, प्रतिष्ठानका प्राज्ञ योगेन्द्रप्रसाद यादवलगायतले मातृभाषाको संरक्षणका लागि सरोकार भएका निकायसँगको समन्वयमा निरन्तर सहकार्य हुने प्रतिबद्धता जनाए। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरि सन् २००० देखि फेब्रुवरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो।

Skip This
Skip This
Logo