सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्याे। एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन्। रोमाले २९ बलमा तीन चौका प्रहार गरिन्। यस्तै ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन्।
सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो। सुदूरपश्चिमकी कविता कुँवरले सर्वाधिक १८ रन जोडिन्। यस्तै, बिन्दु थापा र डोल्ली भट्टले समान ११ रन बनाए।
एपीएफकी सोनु खड्काले तीन विकेट लिइन्। यसबाहेक सीता रानामगर र करुणा भण्डारीले समान दुई विकेट लिँदा राजमती ऐरीले एक विकेट लिइन्। जितसँगै समूहमा एपीएफ दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा छ। दुई खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा प्रदेश १ र लुम्बिनी प्रदेशले एक खेलबाट बिना अंक रहेका छन्।































प्रतिक्रिया