काठमाडौं ।
सरकारले चालू शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ का कारण करिब ५ महिना पढाइ नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा अन्योल उत्पन्न भइरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रमार्फत सो धारणा सार्वजनिक गरेको हो ।
विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले सो जानकारी गराएका हुन् ।
उनले भने– ‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा वैशाखदेखि शैक्षिक सत्र शुरु भइसकेको छ ।’ चैत महिनादेखि लकडाउन भएपछि पढाइ ठप्प भएको थियो । असारमा अनलाइन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिकरुपमा पढाइ शुरु गरेका थिए ।
सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको अवस्थामा सरकारले वैशाखदेखि शैक्षिक सत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ । मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले मंगलबार समायोजन ढाँचा सार्वजनिक गरेपछि औपचारिकरुपमा पठनपाठन शुरु हुने निश्चित भएको छ ।
शिक्षा सचिव डा. सञ्जय शर्माले कार्यढाँचा तयार गरेर सार्वजनिक गर्नु अघि परिषद्ले समायोजन ढाँचा सार्वजनिक गरेको हो ।ढाँचामा मंसिरमा पहिलो र चैतमा अन्तिम परीक्षा लिने उल्लेख छ । सिकाइ सहजीकरण निर्देशिकालाई आधार मानेर निर्माण गरिएको समायोजन ढाँचामा विद्यार्थीको परीक्षा लिन विभिन्न मोडल तय गरिएको छ ।
अनलाइइन वा भर्चुअल, प्रश्नपत्र पठाएर घरबाटै परीक्षा दिन सक्ने (ओपनबुक), सामाजिक दूरी कायम गरी विद्यालयमै उपस्थित भएर र अन्य कुनै पनि विधिबाट परीक्षा लिन सक्ने उल्लेख छ ।
प्रयोगात्मक परीक्षासमेत सोही विधिमा आधारित हुने जनाइएको छ । करिब ६ सय पेजको कार्यविधि आज बुधबारसम्म केन्द्रको वेबसाइटमा राख्ने तयारी भएको छ ।
कार्यकारी निर्देशक दाहालले यो ढाँचा नमुना मात्र भएको जानकारी गराउँदै विद्यालयका प्रअ, विषय शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय विज्ञसहितको समितिले पाठ्यपुस्तकको आधारमा तयार गरी पढाउनु पर्ने बताए । प्रयोगात्मक परीक्षाको हकमा भने शिक्षकले भर्चुअल वा भौतिक दूरी कायम गरी लिने व्यवस्था गरेको छ ।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया