रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ।
संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्कमा एक अन्तर्क्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भावनाका बारेमा पहल शुरु गरेको हो।
युक्रेनमा हाल ४०० जना नेपाली रहेको आँकलन गरिएको छ। संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरुलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ।
नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तर्क्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरु, जर्मनीको लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत एनआरएनएका पदाधिकारीहरु, तथा रुस र जर्मनीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरु सहभागी हुनेछन्।
केसीका अनुसार त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत तेस्रो देशमा पठाउने सम्भावनाको बारेमा संघले छलफल थालेको हो।
युरोपियन युनियनका कयौं मुलुकहरुले युक्रेनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई आआफ्नो देशमा सेल्टर दिने तयारी गरेका छन्। यसैबीच चेक रिपब्लिकाले युक्रेनबाट आएका युद्ध पीडितका लागि विना कागजात आफ्नो देशमै बस्न दिने निर्णय गरेको छ।
शनिवार नेपाली समय साँझ ७ बजे सुरु हुने कार्यक्रममा सहभागी हुन संघका महासचिव डा. हेम राज शर्माले आग्रह गरेका छन्। उनले युक्रेनमा रहेका नेपालीहरुको सहयोग र उद्धारको लागि जुट्न सबै पक्षलाई आग्रह गरेका हुन्।





























प्रतिक्रिया