नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ ।
विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरूमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।
टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेष गरी बर्दिबास बजारमा निक्कै गर्मागर्मा बढेको छ ।
केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुन सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावदारीमा गरिरहेको चर्चा थियो । त्यसकोलगत्तै प्रदेश कमिटी सदस्य तथा बर्दिबासका स्थानीय नेता रुपेश कार्कीले आक्रोशसहित विज्ञप्ति निकाल्दै चर्चामा आएका नामप्रति असन्तुष्टि जनाएका थिए ।
उनले विज्ञप्तिमार्फत माओवादी केन्द्रबाट एमालेमा गएका टेकबहादुर बलाम्पाकीले नै टिकट पाउनुपर्ने यदि नपाएमा आफूले समेत नगरप्रमुखको लागि दाबी गर्ने जिकिर गरेका छन् ।
नेता कार्कीले टेकबहादुर बलाम्पाकीको पक्षमा लबिङ गर्दै उनी टिकटको लायक भएको दाबी गरे । संगठनिक विवाद उत्कर्षमा रहेको बेला नेकपा एमालेका नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छ ।
जिल्ला स्तरीय नेताहरूले टिकटलाई लिएर सुरु गरेको कलहले पार्टीमा फाइदा नगर्ने प्रतिक्रिया दिएका छन् ।
आफूलाई चर्चामा ल्याउन कसैले पनि मिडियाबाजी गर्न नहुने उनीहरूको सुझाव छ । केन्द्रीय सदस्य तथा महोत्तरीका स–इन्चार्ज सरोज यादवले कार्कीको विज्ञप्तिलाई लिएर आपत्ति जनाएका छन् । ‘आकांक्षा राख्न जो कोहीले पाइन्छ तर विज्ञप्ती नै निकालेर मेयरको टिकटको लागी दाबी गर्नु नियमविपरित हुन्छ ।’ उनले भने ।
विवादका कै कारण एमाले महोत्तरीको अधिवेशन हुन सकेको छैन । नेताहरूबीचमा देखिएको मत विभाजनले निर्धारित समयमा अधिवेशन हुन नसक्दा पटक पटक स्थगित बन्दै आएको छ ।
तर, एकपक्षले यहाँ अधिवेशन सम्पन्न भई शपथ समेत खुवाइसकिएको दाबी गरेका छन् भने अर्को पक्ष त्यसकोविरुद्ध पटक पटक केन्द्रमा डेलिगेसन गएको छ ।
नेकपा एमालेभित्र देखिएको भाडभैलोलाई नेकपा एसले भने अवसरको रूपमा लिएको छ । नेकपा एसका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका नेता सुरेश राउत अधिवेशन सम्पन्न भए पनि त्यसपछि आफ्नो पार्टीमा ठुलो समूह आउने दाबी गर्छन् ।





























प्रतिक्रिया