गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सकियो यान्त्रिक परीक्षण उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सकियो यान्त्रिक परीक्षण उडान

केन्द्रबिन्दु
0
Shares

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि सुरु गरिएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सकिएको छ। थाइल्याण्डबाट ल्याइएको एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान गरिएको हो। त्यसक्रममा उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ। 

थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चारलगायत उपकरणहरूको जाँच गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। उनका अनुसार यान्त्रिक उडानको प्रारम्भिक रिपोर्टमा विमानस्थलमा जडान भएका सञ्चारलगायतका उपकरणहरू ठिक पाइएको छ।

विमानस्थलको आइसीपी टु आयोजनाका प्रमुख प्रवीण न्यौपानेले प्रारम्भिक रिपोर्ट सन्तोषजनक आएको र अन्तिम रिपोर्ट आएपछि उपकरणबारेको सबै अवस्था थाहा हुने बताए। विमानस्थलको दुई चरण आइसीपी वान (भौतिक संरचना निर्माण) र आइसीपी टु (सञ्चार उपकरण जडान) अन्तर्गतमा काम भएको छ। विमानस्थलको आईसीपी टु को ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक उडान गरेको हो।

आइसिपी टु आयोजना प्रमुख न्यौपानेले कम्पनीलाई फाइनल  रिपोर्ट सकेसम्म छिटो उपलब्ध गराउन आग्रह गरिएको बताए। 'अन्तिम रिपोर्ट आएपछि सोही अनुसार थप प्रक्रिया अगाडि बढाउँछौँ, सम्भवतः १५/२० दिनभित्रमा यान्त्रिक उडानका दुवै रिपोर्ट आउनेछन्,' उनले भने । 

विमानस्थल सञ्चालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि १०० दिनको योजनाअन्तर्गत काम भइरहेको छ। पर्यटन मन्त्रालयअन्तर्गतका निकायबाट काम भइरहे पनि गृह, अर्थ लगायत मन्त्रालय अन्तर्गतबाट हुने काम ‘फिल्ड’ मा देखिएको छैन। 

आगामी जेठ २ गते विमानस्थल सञ्चालनको लक्ष्य राखिए पनि विमानस्थलमा गृह अन्तर्गतको अध्यागमन र अर्थ अन्तर्गतको भन्सार कार्यालय राख्ने काम अझै भएको छैन। यद्यपि यो काम अगाडि बढिसकेको महाप्रबन्धक दाहालले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय भएको नदेखिँदा विमानस्थल सञ्चालन लक्ष्य राखिएको मिति अझै धकेलिन सक्ने सम्भावना पनि उत्तिकै छ। महाप्रबन्धक दाहालले भने नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट वैशाख १ गते परीक्षण उडान गर्ने, त्यस सँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट जेठ २ गतेबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको बताए।

यता, एरो थाईको विमानले नेपालका थप पाँच वटा विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दैछ। काठमाडौं विमानस्थल, पोखरा, नेपालगन्ज, विराटनगर र सिमरा विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्न लागिएको हो।

Skip This
Skip This
Logo