पछिल्लो एक सातामा नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ। तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ।
गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तररुपमा गिरावट आएको छ। नेप्से परिसूचक गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो। यो साताको बुधबारसम्मको कारोबारमा ११४.०४ अंकभन्दा वढीले गिरावट आएर २ हजार ५४७.०४ विन्दुमा खुम्चिएको छ। प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७.७३ अंक घटेको थियो । आइतवार सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको थियो । उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
मंगलबार महाशिव रात्री पर्व परेकाले नेप्से कारोबार बन्द भएको थियो ।
बुधवार नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
आज शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको सरकारले सार्वजनिक विदा दिएकाले कोरोबार पनि बन्द रहेको छ।
बुधबारसम्म आइपुग्दा उच्च अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन् । गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ।































प्रतिक्रिया