कांग्रेसकाे नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नं २ मा आलोपालो सभापति

कांग्रेसकाे नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नं २ मा आलोपालो सभापति

केन्द्रबिन्दु
0
Shares

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गरेका छन्। 

कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उम्मेदवारले बराबर मत ल्याएका थिए । मत बराबरी भएपछि गोलाप्रथा गर्न उम्मेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुङ्गो लाग्न सकेको थिएन।

मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार गुरुङ र कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए। मत बराबर भएपछि गोला प्रथा गर्ने वा पुनः मतदान गर्ने वा पुनः मतगणना गर्ने वा बदर मतको आधारलाई कुन मान्ने भन्ने विषय टुङ्गोमा पुग्न सकेको थिएन। दुवै पक्षबीचको छलफलपछि दुई–दुई वर्ष कार्यकाल विभाजन गर्ने सहमति भएको जिसीले जानकारी दिए। 

यसैबीच नेपाली कांग्रेस नवलपुरको सहमति नभएका पदमा आज मतदान हुने भएको छ। सहमति नभएका पदमा बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरू गरिएको निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए। यसअघि जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन्। 

त्यस्तै नवलपुर क्षेत्र नं १ को महासमिति सदस्य खुलातर्फ पाँच जना निर्विरोध चयन भए। निर्विरोध निर्वाचित हुनेमा ओमप्रसाद सापकोटा, गजेन्द्रबहादुर आले, मदनभक्त अधिकारी, गणेश सापकोटा र गोकुल सापकोटा रहेका छन्। त्यस्तै खसआर्यतर्फ भरत तिवारी सर्वसम्मत निर्वाचित भएका छन्।अन्य पदका लागि मतदान हुँदैछ। मतदान प्रक्रियामा जिल्लाका कूल एक हजार ९७२ मतदाताले मतदान गर्नेछन्।

Skip This
Skip This
Logo