स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चात अंगदान गर्न आग्रह गरेका छन्। बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्तरुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरे।
मृत्यूपश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सो समुहलाई ठुलो जमात रहेको बताए।
उनले भने, ‘मृगौला पीडितले आफूलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो। अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ। पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो। अहिले दान गर्न पाउने सर्कललाई हामीले ठूलो बनाएका छौँ। नाता पर्नेजति सबैले पाउँछ। हामीले मृत्यूपश्चातको अंग दान पनि गर्न सक्छौँ । मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ।’
मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिन नहुने समेत बताए। मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु चिन्तित भएर आफूलाई कमजोर बनाउन नहुने उनको भनाइ थियो।































प्रतिक्रिया