काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसीले पुनः अनसन सुरु गरेका छन् । जुम्लाको चन्दननाथ–६ वाविरा मन्दिरमा उनले १९ औँ पटक अनसन सुरु गरेका हुन् । यसअघि पनि उनले विभिन्न माग राख्दै पटक–पटक सरकारलाई अल्टिमेटम दिँदै आएका छन् ।
त्यस्तै नेपाल बार एशोसिएसनले संवैधानिक नियुक्तिमा हुने राजनीतिक भागवण्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुको मिलेमतोमा संवैधानिक पदहरुमा हुने नियुक्ति र सिफारिसका कारण संविधानको कार्यान्वयनमा समस्या देखिएको बारले जनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले राजनीतिक दलको भगबण्डाका आधारमा संवैधानिक निकायमा नियुक्त गर्दा पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व प्रमुख आयुक्त उपाध्यायले सो कुरा बताएका हुन् ।
त्यस्तैगरी नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १८ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग समन्वय गरी विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । अहिले आह्वान गरेको दर्खास्तामा मुख्य प्रशिक्षकसँगै विभिन्न प्राविधिक कर्मचारीहरु, महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि पनि खुला प्रतिस्पर्धामा लगिएको छ । नेपाली क्रिकेटलाई आईसीसी मापदण्ड अनुसार अगाडि बढाउन दरर्खास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
कोरोना भाइरस नियन्त्रणका लागि अग्रपक्तिमा खटिएका सुरक्षाकर्मीहरु पनि भाइरसबाट संक्रमित भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ५ हजार १ सय ३५ सुरक्षाकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । त्यसमध्ये २ हजार १८ जना कोरोना जितेर कार्यक्षेत्रमा खटिइसकेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया