चुनावलाई केन्द्रमा राखेर काम गर्नुहोस–कमल थापा

चुनावलाई केन्द्रमा राखेर काम गर्नुहोस–कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आगामी चुनावमा केन्द्रीत भएर काम सुरु गर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा काठमाडाैं उपत्यकामा भएका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिए । राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वकोतर्फबाट आफूले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै अध्यक्ष थापाले संगठन केन्द्रीत भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा साँगठनिक गतिविधि गर्न नेताहरुलाई अनुरोध गरेका थिए ।

भौतिक दूरी कायम गर्दै संचालन गरिएको बैठकमा ७५ जना केन्द्रीय सदस्यहरु सहभागी भएका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिने बताएका थिए । राप्रपाको पुँजी र जग सैद्धान्तिक पक्ष भएकाले त्यसलाई नजरअन्दाज गरी अगाडि बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै सदस्यहरुले पार्टीको सैद्धान्तिक मूल्यलाई एकतासँग जोडेर हेर्न नहुने धारणा राखे ।

त्यस्तै मुलुकमा बढ्दो विकृति, विसंगति र भ्रष्टाचारका कारण जनता नयाँ वैकल्पिक शक्तिको खोजिमा रहेकोले उनीहरुले खोजेको विकल्प राप्रपा बन्ने गरी काम गर्नुपर्नेमा जोड दिए । बैठकमा पार्टीका नेताहरु दिपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङदेन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्रबहादुर गुरुङ लगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । केही दिन अघि जिल्लामा रहेका नेताहरुसँग भर्चुअल बैठक गरेका थापाले आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको सचिवालय सदस्य बर्तौलाको भनाइ छ ।

Logo