असोज १ गतेदेखि काठमाडौं महानगरपालिकामा अनलाइन राजश्व प्रणाली लागु हुने

असोज १ गतेदेखि काठमाडौं महानगरपालिकामा अनलाइन राजश्व प्रणाली लागु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजश्व निर्धारण तथा संकलन गर्ने भएको छ । महानगरपालिकाले सोमबार एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी असोज १ गतेदेखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन शुभारम्भ गर्ने जनाएको हो । कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशतसम्म राजश्व संकलन बढ्ने अपेक्षा गरिएको बताए ।

त्यस्तै कर तिर्न आउने व्यक्तिलाई सम्मान गर्न नजान्दा कर तिर्न ढिलो आउने अथवा आउँदै नआउने प्रवृतिको अन्त्य हुने विश्वास समेत उनले गरे । यो प्रणाली लागु भएपछि कर तिर्न आउनेको संख्या र राजश्वको आधार समेत बढ्ने उनको भनाइ छ । आसोज १ गतेदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा सुरुआत गरिने र विस्तारै सबै वडामा लागु गरिने अर्यालले बताए ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजश्व संकलन भयो भन्ने थाहा पाउन सकिने पनि अर्यालले बताए । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने उनको विश्वास छ । महानगरपालिकाले यसअघि नक्सा स्वीकृतिमा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्न मिल्ने प्रणाली सार्वजनिक गरेको थियो ।

Logo