एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा

एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा

केन्द्रबिन्दु
0
Shares

अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ। नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि एनआरएनए स्थापना गरिएको थियो। 

एनआरएनएको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतका विषयमा उत्पन्न विवाद आन्तरिकरुपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म पुगेको छ। एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहले अलगअलग रुपमा महाधिवेशनको मिति तय गरी निर्वाचनको प्रक्रियासमेत थालनी गरिसकेका कारण संस्था अब एक ढिक्का हुनसक्ने सम्भावना कम रहेको देखिएको छ। यद्यपि सङ्घका केही पदाधिकारी र संरक्षकहरुले सहमतिका लागि प्रयास गरिरहनुभएको पनि बुझिएको छ।  

सङ्घको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीका लागि सङ्घका अध्यक्ष पन्त समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका अधिकांश प्रक्रिया सम्पन्न गरिरहेको जनाएको छ। सो समूहले चैत १० र ११ गते मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताए। 

यस्तै महाधिवेशन आयोजक समितिका संयोजक तथा सङ्घका उपाध्यक्ष लामा समूहले चैत ८ देखि ११ गतेसम्मका लागि एनआरएनएको १०औँ महाधिवेशनको मिति तय गरेको जनाएको छ। महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले बताए। उनका अनुसार महाधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको तथा महाधिवेशनका लागि प्रतिनिधि नेपाल आउने क्रम जारी रहेको छ।

सङ्घको विधानअनुसार गत अक्टोबर २३–२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो। त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचनको मिति तय गरिएको थियो। सङ्घको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो। 

Logo