नेपाल राष्ट्र बैंक विदेशी बैंकहरूलाई नेपालमा शाखा खोल्न दिन पुरानाे नीति परिवर्तन गरेको छ। विदेशी बैंकलाई नेपालमा शाखा खोल्नका लागि न्यूनतम पूँजीसम्बन्धी प्रावधानमा राष्ट्र बैंक लचिलो भएको हो। अब विदेशी बैंकले नेपालमा शाखा खोल्ने व्यवस्थाबारे सन् २०१० मा जारी नीति परिवर्तन भएको छ।
राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै विदेशी बैंकहरूले शाखा खोल्दा कम्तीमा २ करोड अमेरिकी डलर चुक्ता पूँजी भए पुग्ने व्यवस्था गरेको हो। यसअघि न्यूनतम चुक्ता पूँजी २ करोड अमेरिकी डलर (करिब अढाइ अर्ब) तोकिए पनि सन् २०१४ मा संशोधन गरि नेपाली बैंकहरूको विद्यमान पूँजीअनुसार नै कायम गर्नुपर्ने व्यवस्था थप गरिएको थियो।
विदेशी बैंकलाई नेपालमा आकर्षित गर्न चुक्ता पूँजीमा नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकले १२ वर्षअघि विदेशी बैंकलाई नेपालमा शाखा खोल्न पाउने नीति जारी गरेको थियाे । तर हालसम्म कुनै पनि विदेशी बैंकले नेपालमा शाखा खोलेका छैनन्। केही बैंकहरूले सम्पर्क कार्यालय भने खाेलेका छन् ।
कतारको दोहा बैंक, यूएईको मसरेक बैंक र भारतको आईसीआईसीआई बैंकले मात्र सम्पर्क कार्यालय खोलेका हुन्। सम्पर्क कार्यालयबाट बैंकिङ कारोबार गर्न पाइँदैन। विदेशी बैंकहरूले नेपालमा सम्पर्क कार्यालय खोल्दा वार्षिकरूपमा ५ हजार अमेरिकी डलर शुल्क बुझाउनु पर्ने प्रावधानसमेत राष्ट्र बैंकले निर्देशिकामा थपेको छ।
हाल नेपालका वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ कायम रहेकाले विदेशी बैंकले पनि शाखा खोल्दा उक्त रकमअनुसार नै पूँजी कायम गर्नु पर्ने नियम थियाे । तर, नयाँ निर्देशिकाले २ करोड अमेरिकी डलर भए पुग्ने व्यवस्था गरेको छ।
यसअघिको प्रावधानका कारण विदेशी बैंकहरू आकर्षित नभएकाले पुरानाे व्यवस्थामा परिवर्तन गर्नु परेकाे बताइएकाे छ। अब विदेशी बैंकहरू नेपालमा आकर्षित हुने राष्ट्र बैंककाे विश्वास छ। नयाँ निर्देशिका अनुसार विदेशी बैंकका शाखाले ठूलो रकमको निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउनेछन्।































प्रतिक्रिया