कांग्रेसले गठबन्धनभन्दा पनि धेरै सिट जित्न महत्त्व दिन्छ : कांग्रेस प्रवक्ता डा. महत

कांग्रेसले गठबन्धनभन्दा पनि धेरै सिट जित्न महत्त्व दिन्छ : कांग्रेस प्रवक्ता डा. महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् । कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको उनले बताए। 

नेपाल प्रेस युनियन बाँके शाखाले शनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा. महतले सत्तारुढ गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने जोड दिए । उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन,  पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौँ ।’ उनले आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने पनि स्पष्ट पारे ।

प्रवक्ता डा. महतले कांग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दावी गर्दै भने, ‘हामी यस पटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।’

उनले निर्वाचन केन्द्रित ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे । उनले भने, ‘तपाईँहरू घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान बोकेर जनताको घरदैलोमा जानुहोस्, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलको दुष्प्रचार र गल्तीहरूको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस् ।’

उनले उनले जित्ने गरी उम्मेदवार बनाउने कुरामा जोड दिँदै भने ‘यस पटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने छ । मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’

प्रवक्ता डा. महतले एमसीसीका बारेमा सत्ता साझेदार वा विपक्षीले खडा गरेको भ्रमको पर्दा खुलेको र  कांग्रेस सधैँ सत्यका पक्षमा उभिने पार्टी भएको बताए । एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैँ एउटै बोली बोलेको बताए ।

Skip This
Skip This
Logo